भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने गरी समय निर्धारण गरिएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल हुनेछ।

विशेषगरी बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ।

बाढीका कारण प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने तथा उद्धारमा आवश्यक जनशक्ति, उपकरण र स्रोत–साधन परिचालन गर्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राख्ने भएको छ।

त्यस्तै, प्रभावित क्षेत्रको अवस्था मूल्यांकन गरी आगामी दिनमा गर्नुपर्ने राहत तथा पुनर्निर्माणका कामबारे समेत मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिन सक्ने जनाइएको छ।

यसअघि बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। सरकारले घटनाबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै जोखिममा रहेका बस्तीको सुरक्षा र पुनर्स्थापनाका विषयमा समेत आवश्यक कदम चाल्ने तयारी गरेको छ।

२५ भाद्र २०८३, बिहीबार १२:५४