डीएनए परीक्षणको पर्खाइमा १,२५६ शव, पहिचानमा एआईको सहारा

काठमाडौं — भोटेकोशी बाढीपछि फेला परेका तर पहिचान हुन नसकेका शव तथा मानव अंगको सनाखतमा ढिलाइ भइरहेका बेला आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग थालिएको छ। डीएनए परीक्षणबाट अन्तिम पहिचान हुनुअघि सम्भावित व्यक्तिसँग शवको अनुहार मिलाउन ‘फेसट्याग’ प्रविधि प्रयोग गरिएको हो।

बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म १ हजार ३ सय ५८ शव तथा मानव अंग फेला परेको प्रहरीले जनाएको छ। तीमध्ये ४ सय ९८ वटा आंशिक मानव अंग छन्। हालसम्म १ सय २ जनाको पहिचान गरी परिवारलाई बुझाइएको छ भने बाँकी १ हजार २ सय ५६ शव तथा मानव अंगको पहिचान हुन सकेको छैन।

डीएनए परीक्षणमा समय लाग्ने भएकाले तत्काल सम्भावित पहिचान पत्ता लगाउन फेसट्याग प्रणाली प्रयोग गरिएको हो। यस प्रविधिले बेपत्ता व्यक्तिको तस्बिरलाई उपलब्ध शवको तस्बिरसँग तुलना गरेर सम्भावित मिल्ने अनुहारहरू देखाउँछ। त्यसपछि परिवार वा आफन्तले ती विकल्प हेरेर सम्भावित व्यक्ति पहिचान गर्न सक्छन्।

अमेरिकामा रहेका सूचना प्रविधि व्यवसायी समीर पन्थीको पहलमा यो प्रविधि नेपालमा प्रयोगमा ल्याइएको हो। उनका अनुसार प्रविधिले हजारौँ तस्बिरमध्येबाट सम्भावित केही व्यक्तिको विकल्प निकाल्ने भएकाले आफन्तलाई पहिचानको प्रक्रियामा सहयोग पुग्न सक्छ। तर एआईले गरेको मिलानलाई अन्तिम प्रमाण भने मानिने छैन।

जीवित व्यक्तिको स्पष्ट अनुहारमा फेसियल रिकग्निसन प्रविधिले उच्च शुद्धतामा काम गर्न सक्ने भए पनि शवको अवस्था फरक हुने भएकाले कठिनाइ हुने पन्थीले बताएका छन्। बाढीका कारण कतिपय शवमा चोटपटक लागेको, अनुहार सुन्निएको वा शरीर क्षतविक्षत भएको हुँदा त्यस्ता अवस्थामा प्रविधिको शुद्धता घट्न सक्छ।

यसका लागि ‘खोजी’ नामको अनलाइन पोर्टलसमेत सञ्चालनमा ल्याइएको छ। बेपत्ता व्यक्तिको नाम, उमेर, लिंग, अन्तिम पटक देखिएको स्थान, विशेष चिनारी र स्पष्ट तस्बिर राखेर परिवारले विवरण दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। अहिलेसम्म करिब ५ सय बेपत्ता व्यक्तिको विवरण प्रणालीमा राखिएको र फेसट्यागको सहयोगमा ९० भन्दा कम शवको सम्भावित पहिचान भएको बताइएको छ।

उता, प्रहरीले अहिलेसम्म २ हजार ५ सय ७० वटा डीएनए नमुना संकलन गरेको छ। मृतकबाट १ हजार २ सय ८० र आफन्तबाट १ हजार २ सय ९० नमुना लिइएको छ। डीएनए परीक्षणमा भारत, चीन, सिंगापुर र कोरियाका फरेन्सिक विज्ञ टोलीले समेत सहयोग गरिरहेका छन्।

बाढीपछि शवहरू लामो समयसम्म राख्दा स्वास्थ्य तथा वातावरणमा समस्या आउन सक्ने भएपछि चितवनको देवघाट क्षेत्रमा ३ सय ३५ शवलाई अन्तर्राष्ट्रिय रेडक्रसको मापदण्डअनुसार व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ती शवलाई भविष्यमा डीएनएबाट पहिचान खुलेपछि निकालेर परिवारलाई बुझाउन सकिने गरी संकेत नम्बर राखेर व्यवस्थापन गरिएको हो।

प्रहरीका अनुसार बाढीबाट फेला परेका धेरै शव अत्यधिक क्षतविक्षत भएकाले फोटोका आधारमा पहिचान गर्न कठिन छ। कतिपय अवस्थामा एउटै शवमाथि फरक–फरक परिवारले दाबी गर्ने अवस्था समेत देखिएको छ। यस्तो अवस्थामा एआई प्रविधिले सम्भावित मिलान देखाए पनि त्यसलाई अन्तिम निर्णयको आधार बनाउन नसकिने प्रहरीको भनाइ छ।

प्रविधिमा संलग्न पक्षले भने परिवारको खोजी प्रक्रियालाई छिटो र सहज बनाउन एआई उपयोगी हुने बताएका छन्। तर बेपत्ता व्यक्तिका तस्बिर तथा व्यक्तिगत विवरण प्रयोग हुने भएकाले गोपनीयता र डेटा सुरक्षालाई विशेष ध्यान दिनुपर्ने विषय पनि उठाइएको छ। प्रविधि प्रयोगकर्ताहरूले पहिचान पुष्टि भएपछि सम्बन्धित विवरण प्रणालीबाट हटाउने व्यवस्था गरिएको बताएका छन्।

नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेका अनुसार सग्लो अवस्थामा रहेका शवको पहिचानमा फोटो वा डिजिटल प्रविधि उपयोगी हुन सक्छ। तर लेदो, ढुंगा र बालुवाले क्षति पुर्‍याएका, अंगभंग भएका वा कुहिन थालेका शवको हकमा फोटोबाट सही पहिचान गर्न कठिन हुने भएकाले अन्तिम र वैज्ञानिक प्रमाणका रूपमा डीएनए परीक्षण नै भरपर्दो माध्यम रहनेछ।

२५ भाद्र २०८३, बिहीबार ०९:५१