बाढीपछि विद्युत् फर्किँदै, नुवाकोटका थप क्षेत्रमा सेवा सुचारु

रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युत् संरचना मर्मतसँगै प्रभावित क्षेत्रमा बिजुली आपूर्ति फर्काउने कामले गति लिएको छ। बाढीका कारण अवरुद्ध भएका नुवाकोटका थप क्षेत्रमा मंगलबारदेखि विद्युत् सेवा सञ्चालनमा आएको हो।

विदुर नगरपालिका–१० र ११ तथा तारकेश्वर गाउँपालिका–४ मा विद्युत् आपूर्ति पुनः सुचारु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

भदौ १० गते आएको बाढीले रसुवा र नुवाकोटका विभिन्न ठाउँमा विद्युत्का पोल, तारलगायत संरचनामा क्षति पुर्‍याएपछि मन्त्रालयले तत्कालै प्राविधिक टोली तथा आवश्यक स्रोतसाधन परिचालन गरी पुनःस्थापनाको काम थालेको थियो।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार रसुवामा ८३ प्रतिशत र नुवाकोटमा ९५ प्रतिशत विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ। बाँकी क्षेत्रमा पनि मर्मत तथा पुनःस्थापनाको काम जारी छ।

विद्युत् पुर्‍याउन तत्काल सम्भव नभएका बाढी प्रभावित बस्तीमा भने वैकल्पिक ऊर्जाको व्यवस्था गर्न लागिएको छ। त्यस्ता स्थानका सामुदायिक आश्रयस्थलमा २ किलोवाट क्षमताका सौर्य प्रणाली जडान गरिनेछ भने आवश्यकताअनुसार प्रभावित परिवारलाई व्यक्तिगत सोलार प्रणालीसमेत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

२४ भाद्र २०८३, बुधबार ११:३८