सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भएको जेनजी आन्दोलनबारे तयार पारिएका छानबिन प्रतिवेदन सरकारले सार्वजनिक नगरी लुकाएको आरोप लगाएका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय मानवअधिकार आयोग तथा सुरक्षा निकायबाट तयार भएका प्रतिवेदनहरू सार्वजनिक हुन नसक्नु गम्भीर विषय भएको बताए। उनले आन्दोलनका क्रममा भएका घटनाको वास्तविकता बाहिर ल्याउन सरकारले तत्काल प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे।
प्रचण्डले जेनजी आन्दोलनमा युवाहरूले उठाएका मुद्दा र त्यसको उद्देश्यलाई छुट्टै रूपमा बुझ्नुपर्ने बताए। आन्दोलनमा योजनाबद्ध रूपमा बाहिरी समूहको प्रवेश गराई त्यसलाई आफ्नो उद्देश्यअनुसार प्रयोग गरिएको दाबी गर्दै उनले भदौ २३ र २४ गते भएका हिंसात्मक तथा विध्वंसात्मक घटनाको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए।
कार्यक्रममा पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शासकहरूको कमजोरी र दम्भका कारण जेनजी पुस्ताको विद्रोह जन्मिएको धारणा राखे। उनका अनुसार आन्दोलन लोकतन्त्र अन्त्य गर्ने उद्देश्यले नभई लोकतान्त्रिक व्यवस्थालाई थप जनमुखी बनाउने मागसहित भएको थियो। उनले संविधान र लोकतान्त्रिक प्रणालीको संरक्षण गर्दै तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन हुनुपर्नेमा जोड दिए।
पूर्वसभामुख अग्निप्रसाद सापकोटाले पनि आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड तथा भौतिक क्षतिको निष्पक्ष छानबिन हुनुपर्ने बताए। उनले गठन भएका आयोग तथा छानबिन समितिका प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्याय दिलाउन सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको थियो। घटनाको अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिएको थियो भने राष्ट्रिय मानवअधिकार आयोगले पनि छुट्टै अध्ययन तथा प्रतिवेदन तयार गरेको थियो। ती प्रतिवेदनको कार्यान्वयन र सार्वजनिक गर्ने विषयमा भने सरकारमाथि प्रश्न उठ्दै आएको छ।
२४ भाद्र २०८३, बुधबार ११:३१