काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन मर्मतका क्रममा दुर्घटनामा परी घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने भएको छ।
प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले मेलम्ची वितरण केन्द्रअन्तर्गत कार्यरत कर्मचारी सन्देश मगर (शेरबहादुर मगर) लाई क्षतिपूर्ति दिने निर्णय गरेको हो।
खोटाङका २५ वर्षीय मगर २०८२ चैत ११ गते मेलम्ची नगरपालिका–१० आम्बोटेमा १५ केभी प्रसारण लाइनको डिस्क पिन परिवर्तन गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। दुर्घटनापछि उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो।
अस्पतालमा उपचार गर्दा उनको ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो। प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार उनलाई थप १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको हो।
मगरले १० लाख रुपैयाँ यसअघि नै पेश्कीका रूपमा लिइसकेका छन्। अब उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराउन सञ्चालक समितिले स्वीकृति दिएको प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए।
यससँगै दुर्घटनामा घाइते भएका कर्मचारीले क्षतिपूर्ति र उपचार खर्च गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ पाउने भएका छन्।
२५ भाद्र २०८३, बिहीबार ०९:५६