भाद्र २४, नुवाकोट । बाढीले पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट सडकखण्डमा यातायात सञ्चालनको प्रयास अघि बढाइएको छ। तादी खोलामाथि अस्थायी फलामे पुल राख्ने काम तीव्र गतिमा भइरहेको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण देवीघाटको पुरानो पक्की पुलमा क्षति पुगेपछि आवागमन प्रभावित भएको थियो। त्यसको विकल्पका रूपमा नेपाली सेनाले ६० मिटर लामो स्टिल पुल जडान गरिरहेको हो।
पुरानो पुलका दुवै किनारमा रहेका संरचनालाई आधार बनाएर नयाँ पुल राख्ने काम भइरहेको छ। केही दिनअघि सुरु गरिएको जडान कार्य छिट्टै सक्ने गरी सेनाको प्राविधिक टोली खटिएको छ।
पुल निर्माणका लागि आवश्यक सामग्रीदेखि प्राविधिक व्यवस्थापनसम्म नेपाली सेनाले नै गरिरहेको छ। जडान सम्पन्न भएपछि पुलको प्राविधिक परीक्षण गरिने र सुरक्षित ठहरिएमा सवारीसाधनका लागि मार्ग खुला गरिने तयारी छ।
पुल सञ्चालनमा आएपछि बाढीका कारण प्रभावित देवीघाट क्षेत्रको यातायात सहज हुनुका साथै स्थानीयको दैनिक आवागमनमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ।
२४ भाद्र २०८३, बुधबार ११:३६