सुनिता रखाल, हेटौँडा ।
हेटौँडामा आयोजित नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको पाँचौँ साधारण सभामा पत्रकार भगवती तिमल्सिना सम्मानित हुनुभएको छ। नेपाल समाचारपत्र दैनिककी सहसम्पादक तथा नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष तिमल्सिनालाई ‘स्वर्गीय रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो।

महासंघले पत्रकारिता क्षेत्रमा उहाँले पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको जनाएको छ। पुरस्कारमार्फत सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताको प्रवर्द्धन, नागरिकको सुसूचित हुने अधिकारको संरक्षण तथा पत्रकारिता पेशाको गरिमा अभिवृद्धिमा उहाँको भूमिकालाई उच्च मूल्याङ्कन गरिएको उल्लेख गरिएको छ।

पुरस्कारपत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर तथा महासचिव उद्धव भुजेलको हस्ताक्षर रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारिता क्षेत्रमा पुरस्कार र सम्मानको परम्पराले पेशागत उत्साह तथा जिम्मेवारी बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।

साधारण सभाका अवसरमा अन्य विभिन्न विधामा पनि पत्रकार तथा शाखाहरूलाई सम्मान गरिएको थियो। उत्कृष्ट पत्रकार सम्मानबाट प्रतिमा सिलवाल र मकवानपुरका धुर्ब अधिकारी सम्मानित भए। त्यसैगरी धादिङ जिल्ला शाखाले संस्थागत सम्मान प्राप्त गर्यो।

अग्रज पत्रकार सम्मान सिन्धुली शाखाका शेषराज दाहाल, मकवानपुर शाखाका नवराज शर्मा तथा महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलाई प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा महासंघका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेपप्रति सबै पक्ष सजग हुनुपर्ने बताउनुभयो। उहाँले स्वतन्त्र प्रेस र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि पत्रकार समुदाय एकजुट हुन आवश्यक रहेको धारणा राख्नुभयो।

त्यसैगरी वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नीतु पण्डित, कोषाध्यक्ष रामकृष्ण अधिकारी, बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर तथा सञ्चार रजिष्ट्रार कार्यालयका प्रमुख हरिहर पोख्रेललगायत वक्ताहरूले सञ्चार क्षेत्रसँग सम्बन्धित विवादित निर्णयहरू पुनर्विचार गर्न सरकारलाई आग्रह गर्दै संवाद र समन्वयमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए।
२३ जेष्ठ २०८३, शनिबार २२:५५