बुहारी शिक्षा प्रवर्द्धनका लागि छात्रवृत्ति, स्नातकोत्तर उत्तीर्ण छोरी–बुहारी तथा उत्कृष्ट अपाङ्गता उद्यमी सम्मान

सुनिता रखाल,चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाले महिला सशक्तीकरण, शिक्षा प्रवर्द्धन र समावेशी विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले बुहारी शिक्षा प्रवर्द्धन छात्रवृत्ति वितरण, स्नातकोत्तर तह उत्तीर्ण छोरी–बुहारी सम्मान तथा उत्कृष्ट अपाङ्गता उद्यमी सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

नगरपालिकाको महिला शाखा तथा न्यायिक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटा प्रमुख अतिथि र उपप्रमुख सीता थापा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी, सामाजिक संघसंस्थाका प्रतिनिधि, सम्मानित व्यक्तित्व तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले शिक्षा, सीप र उद्यमशीलतामा गरिएको लगानीले समाजको दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले महिलाको शिक्षा र आर्थिक सशक्तीकरण नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै छोरी–बुहारीलाई उच्च शिक्षा हासिल गर्न प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।

त्यसैगरी, विशेष अतिथि उपप्रमुख सीता थापाले महिलाको क्षमता अभिवृद्धि र आत्मनिर्भरता विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। शिक्षित महिला परिवार र समाजको विकासको आधार भएको उल्लेख गर्दै उहाँले सम्मान तथा छात्रवृत्तिले थप अध्ययन र सिर्जनशील कार्यमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नगरभित्रका चौतारा बहुमुखी क्याम्पस, जुगल बहुमुखी क्याम्पस र जलविरे भ्याली क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तह अध्ययनरत २९ जना बुहारीलाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो।

त्यसैगरी, स्नातकोत्तर तह सफलतापूर्वक उत्तीर्ण गरेका ४२ जना छोरी–बुहारीलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। उद्यमशीलतामार्फत उदाहरणीय कार्य गरेका १५ जना अपाङ्गता भएका उद्यमीलाई पनि जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

सम्मानित व्यक्तिहरूले नगरपालिकाले गरेको सम्मानले थप जिम्मेवारी र उत्साह प्रदान गरेको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता कार्यक्रमले शिक्षा, उद्यमशीलता र सामाजिक योगदानलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।

नगरपालिकाले शिक्षा, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण तथा अपाङ्गता भएका व्यक्तिको क्षमता विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस किसिमका सम्मान तथा छात्रवृत्ति कार्यक्रमले प्रतिभाको कदर गर्नुका साथै नयाँ पुस्तालाई उच्च शिक्षा र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको समापनमा नगरपालिकाले आगामी वर्षहरूमा पनि शिक्षा, उद्यमशीलता र समावेशी विकासलाई केन्द्रमा राखी यस्ता रचनात्मक कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

१९ असार २०८३, शुक्रबार १२:०३