बुढीगण्डकी बाढी : ४७ जनाको उद्धार, पुल र बस्तीमा ठूलो क्षति

काठमाडौं, २५ असोज । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ३८७ सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। हालसम्म ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार उद्धार कार्यमा नेपाली सेनाका चारवटा हेलिकोप्टरसमेत प्रयोग गरिएको छ। परिचालित सुरक्षाकर्मीमध्ये नेपाली सेनाका १२७, नेपाल प्रहरीका ८३ र सशस्त्र प्रहरी बलका १७७ जना छन्।

बाढीले गोरखाका विभिन्न स्थानमा रहेका पुल तथा बस्तीमा क्षति पुर्‍याएको छ। चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। उक्त क्षेत्रमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको विवरण प्राप्त भएको छ।

त्यस्तै, धार्चे गाउँपालिका–५ माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। धार्चे–३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावर हाउस र आसपासका सातदेखि आठवटा घर बगाएको जानकारी प्राधिकरणले दिएको छ।

बाढीका कारण आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको भागसमेत बगाएको छ। माछीखोलाको तल्लो बस्तीका २० भन्दा बढी घर जोखिममा रहेको जनाइएको छ। विभिन्न जलविद्युत् आयोजनामा पनि क्षति पुगेको विवरण आएको छ।

बाढी आउनुको कारण पत्ता लगाउन र क्षतिको अवस्था बुझ्न प्राधिकरण तथा सडक विभागको प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा खटिएको छ। साथै, क्षतिग्रस्त पुल भएको स्थानमा तत्काल बेलिब्रिज जडान गर्न सम्भव छ वा छैन भन्ने विषयमा पनि अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ।

२५ आश्विन २०८३, आईतवार १६:२६