काठमाडौं, २५ असोज । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीको कारण पत्ता लगाउन ड्रोनसहित भूगर्भविद्को तीन सदस्यीय टोली परिचालन गरिएको छ। बाढीबाट क्षतिग्रस्त सडक सञ्चालनमा ल्याउने र बेलिब्रिज निर्माणको सम्भाव्यता बुझ्न सम्बन्धित सरकारी निकायका अधिकारी पनि प्रभावित क्षेत्रमा पुगेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान बाढीको सूचना प्राप्त भएपछि उद्धार तथा प्रतिकार्यका लागि गोरखासहित धादिङ, तनहुँ, चितवन र नवलपरासीका जिल्लामा टोली परिचालन गरिएको थियो। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रबाट प्राप्त पूर्वसूचना एसएमएसमार्फत सर्वसाधारणलाई पठाइएको प्राधिकरणले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुलीडाँडाको बीचमा पहिरो खसेर नदीको बहाव थुनिएको थियो। पछि थुनिएको पानी एकाएक बग्दा बाढी आएको बताइएको छ। घटनामा चुम्चेतस्थित उङ्गिलुङका दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन्।
बाढीले गोरखाका विभिन्न क्षेत्रमा घर, पुल, सडक तथा ऊर्जा र सञ्चार संरचनामा क्षति पुर्याएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचना र आसपासका सातदेखि आठवटा घर बगाएको प्राधिकरणले जनाएको छ। चुमनुब्री–३ को न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।
त्यस्तै, माछिखोलाका तल्लो बस्तीका २० देखि २२ घर जोखिममा परेका छन्। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित पक्की फलामे पुलमा पनि क्षति पुगेको छ। बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प तथा निर्माण उपकरण बगाएको र दुईवटा टेलिफोन टावरसहित ५० वटा विद्युत् पोलमा क्षति पुगेको विवरण सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका हेलिकोप्टर प्रयोग गरी ४७ जनालाई उद्धार गरेर सुरक्षित स्थानमा पुर्याइएको छ। उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कुल ४३७ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेनाका चारवटा हेलिकोप्टर खटाइएका छन्।
सुरक्षाकर्मीमध्ये नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरीका १७७ जना छन्। थप आवश्यक परे परिचालन गर्न नेपाल प्रहरीका ५० जनालाई प्रतिकार्य तथा तालिम केन्द्रमा तयारी अवस्थामा राखिएको छ। गोरखा, लमजुङ र तनहुँका द्रुत प्रतिकार्य टोली तथा अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ।
प्राधिकरणले बुढीगण्डकी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। नदी किनार तथा जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा बस्न र जोखिमपूर्ण पुल तथा सडक प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
२५ आश्विन २०८३, आईतवार १६:२१