बुढीगण्डकी बाढीको कारण पत्ता लगाउन भूगर्भविद्को टोली परिचालन

काठमाडौँ, आश्विन २५। गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीको कारण पत्ता लगाउन ड्रोनसहित तीन सदस्यीय भूगर्भविद्को टोली परिचालन गरिएको छ। सडक सञ्चालन र बेलिब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली पनि प्रभावित क्षेत्रमा खटाइएको छ।

चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पादेखि चुलीडाँडाको बीचमा पहिरो गएर नदी थुनिएको र त्यसपछि नदीको बहाव खुल्दा बाढी आएको जनाइएको छ। बाढीमा परी चुम्चेतस्थित उङ्गिलुङका दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन्।

बाढीले धार्चे गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन जलविद्युत् आयोजनाका संरचना, घर, पुल, सडक, टेलिफोन टावर र विद्युत्का पोलमा ठूलो क्षति पुर्‍याएको छ। माछिखोलाका तल्लो बस्तीका २० देखि २२ घर जोखिममा परेका छन् भने बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प र निर्माण उपकरणसमेत बगाएको छ।

बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका हेलिकोप्टरमार्फत ४७ जनाको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ सुरक्षाकर्मी खोज तथा उद्धारमा परिचालन भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा जोखिमयुक्त पुल र सडक प्रयोग नगर्न आग्रह गरेको छ। साथै, बाढीको कारण पत्ता लगाउन र प्रभावित क्षेत्रमा सडक सञ्चालन पुनः सुरु गर्न आवश्यक अध्ययन भइरहेको जनाएको छ।

२५ आश्विन २०८३, आईतवार १८:५४