आरुघाट, असोज २६। बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट र धादिङलाई जोड्ने मोटरेबल पुलमा क्षति पुर्याएपछि सडक सम्पर्क पुनःस्थापना गर्न नेपाली सेनाले बेलिब्रिज जडानको तयारी थालेको छ।
आइतबार बिहान आएको बाढीले पुलका तीनवटा स्पानमध्ये एउटा भाग भाँचेर बगाएको थियो। पुल क्षतिग्रस्त भएपछि आरुघाट हुँदै गोरखा र धादिङबीच हुने आवागमन प्रभावित भएको छ।
पुलमा बेलिब्रिज राख्नुअघि नेपाली सेनाले डोजरको सहायताले बाढीले थुपारेको लेदो र माटो हटाउने काम अघि बढाएको छ। आवश्यक निर्माण सामग्री सडक डिभिजन कार्यालय हेटौँडाबाट ल्याउने तयारी भइरहेको छ।
नेपाली सेनाको रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार बेलिब्रिज निर्माणका सामग्री आइपुगेपछि जडानको काम सुरु गरिनेछ। सेनाको टोलीले आइतबार नै क्षतिग्रस्त पुलको निरीक्षण गरेको थियो।
यसैबीच, आरुघाटबाट माथिल्लो क्षेत्रतर्फ जाने सडकमा बाढीले बगाएर ल्याएको लेदो थुप्रिँदा सवारीसाधन सञ्चालनमा समेत कठिनाइ भएको छ। सडक डिभिजन कार्यालयले लेदो हटाएर सडक सञ्चालन सहज बनाउने तयारी गरिरहेको छ।
बाढीले पुल र सडकमा क्षति पुर्याएपछि स्थानीयको आवागमन तथा यातायात सेवा प्रभावित बनेको छ। बेलिब्रिज जडान र सडक सफाइको काम अघि बढेसँगै अवरुद्ध सडक सम्पर्क पुनःस्थापना हुने अपेक्षा गरिएको छ।
२६ आश्विन २०८३, सोमबार १५:५९