जनतापत्र बाह्रविसे ।
जिल्लाको बाह्रबिसे क्षेत्रमा ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत आयोजना निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। स्थानीय सहभागिता र आर्थिक लाभ सुनिश्चित गर्ने उद्देश्यसहित आयोजना अघि बढाइएको हो ।
आयोजना निर्माण निजी क्षेत्रद्वारा अघि बढाइएको छ। परियोजनाले प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग सहमति गरेर काम सुरु गरेको जनाएको छ। स्थानीयलाई १० प्रतिशत शेयर उपलब्ध गराउने व्यवस्था गरिएको छ, जसले दीर्घकालीन आर्थिक लाभको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
आयोजना क्षेत्रभित्र पर्ने बस्तीहरूको सर्वेक्षण सम्पन्न भइसकेको छ। प्रभावित घरधुरीहरूको विवरण संकलन गरी मुआब्जा तथा सहमति प्रक्रिया अघि बढाइएको छ । कम्पनीले स्थानीयसँग सहकार्य गर्दै पारदर्शी रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।
निर्माण कार्य सुरु भएसँगै रोजगारीका अवसर सिर्जना भएका छन्। हालसम्म ८० भन्दा बढी स्थानीय युवाले प्रत्यक्ष रोजगारी पाएका छन्। यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थालेको छ। निर्माण सामग्री सकेसम्म स्थानीय स्तरबाट खरिद गर्दा व्यवसायीहरू पनि लाभान्वित भएका छन् ।
परियोजनाले वातावरणीय सन्तुलनलाई ध्यानमा राख्दै नदीमा न्यूनतम पानी बहाव कायम राख्ने जनाएको छ। हिउँदमा पनि आवश्यक मात्रामा पानी निरन्तर बग्ने व्यवस्था गरिएको छ, जसले खानेपानी र जैविक विविधतामा असर नपर्ने अपेक्षा गरिएको छ ।
प्राविधिक रूपमा सुरक्षित बनाउन विस्तृत भूगर्भीय अध्ययनपछि डिजाइन तयार गरिएको छ। बस्तीमा कुनै जोखिम नपर्ने गरी निर्माण गरिने कम्पनीले जनाएको छ । सबै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरेर मात्र काम अघि बढाइएको बताइएको छ ।
स्थानीयवासीले आयोजनालाई विकास र रोजगारीको अवसरका रूपमा हेरेका छन्। यद्यपि वातावरणीय प्रभावबारे निरन्तर निगरानी आवश्यक रहेको उनीहरूको भनाइ छ । आयोजना सफलतापूर्वक सम्पन्न भएमा यसले क्षेत्रीय विकास र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
२० बैशाख २०८३, आईतवार ११:०७