जनतापत्र, सिन्धुपाल्चोक ।
“बालमैत्री व्यवहार, आजको आवश्यकता” भन्ने मूल नाराका साथ बलेफी गाउँपालिका–५ मा एक विशेष वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। बालबालिकाको सिर्जनात्मकता, आत्मविश्वास र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रम सेतीदेवी आधारभूत विद्यालय, ज्यामिरेको सभाहलमा सम्पन्न भएको हो।

प्रतियोगितामा वडा नं. ५ भित्रका १८ वर्षमुनिका ३५ जना बालबालिकाहरूले सक्रिय सहभागिता जनाएका थिए। आफ्नो धारणा प्रस्तुत गर्दै सशक्त भाषाशैलीमा बोलेका सहभागीहरूबीचको प्रतिस्पर्धा निकै रोचक र प्रेरणादायी रहेको थियो।
प्रतियोगितामा बर्षा भुजेलले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरिन्। ओस्नवी तामाङ दोस्रो स्थानमा र देविशा पौडेल तेस्रो स्थानमा स्थान बनाउन सफल भए। यस्तै, आस्था रोक्का र विनु तिमल्सिनाले सान्त्वना पुरस्कार प्राप्त गरे। कार्यक्रमकै सबैभन्दा कान्छी सहभागी कमला नेपालीलाई विशेष प्रोत्साहनस्वरूप नगद रु ५०० पुरस्कार प्रदान गरिएको थियो।
विजेताहरूलाई समाजसेवी सुनिल श्रेष्ठले नगद पुरस्कार वितरण गर्नुभयो। उहाँले प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई क्रमशः रु १५००, १००० र ५०० रुपैयाँका साथ सम्मान गर्नुभएको थियो।
कार्यक्रम वडा अध्यक्ष यादव ठकुरीको अध्यक्षता तथा बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्यहरू, शिक्षक–अभिभावक प्रतिनिधि, स्थानीय विद्यालयका प्रधानाध्यापकहरू तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष ठकुरीले बालमैत्री समाज निर्माणका लागि यस्ता गतिविधिहरू अपरिहार्य रहेको उल्लेख गर्दै, आगामी दिनमा अझ प्रभावकारी र सहभागीमुखी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रमले बालबालिकाहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सामाजिक सोच र अभिव्यक्ति क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
२५ जेष्ठ २०८२, शनिबार २१:३३