महिला अधिकार र सामाजिक न्यायमा योगदान पुर्याउने १२ महिला सम्मानित

सिन्धुपाल्चोक, । ग्रामीण महिला सिर्जनशील परिवारले आफ्नो ३३औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। स्थापना दिवसका अवसरमा महिला अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय, हिंसाविरुद्धको अभियान तथा समुदाय रूपान्तरणमा उल्लेखनीय योगदान पु¥याउने १२ जना महिलालाई ‘सिर्जनशील समानता पुरस्कार’ प्रदान गरी सम्मान गरिएको छ।

सम्मानित हुनेमा महिला हिंसाविरुद्धको अभियानमा सक्रिय जेन्जी अभियन्ता मनिषा रानामगर, संस्थाकी पूर्वअध्यक्ष कल्याणी नेपाल, संस्थापक रामदेवी तामाङ, कान्तिपुरकी सञ्चारकर्मी कमला पाख्रिन, राजनीतिक नेता तथा सफल हिमाल आरोही माया गुरुङ, भोटेकोशी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष तथा उपप्रमुख दाबुटी शेर्पा, त्रिपुरासुन्दरी गाउँपालिकाकी दुर्गादेवी नेपाल, जुगल गाउँपालिकाकी सिर्जना तामाङ, लिसङ्खुपाखर गाउँपालिकाकी हेमगंगा मोक्तान, सुनकोशी गाउँपालिकाकी लक्ष्मी पौडेल, बलेफी गाउँपालिकाकी कमला कायस्थ र बाह्रबिसे नगरपालिकाकी सुशिला पाख्रिन रहेका छन्।

ग्रामीण महिला सिर्जनशील परिवारले महिला अधिकार, लैङ्गिक समानता, हिंसामुक्त समाज निर्माण, सामाजिक न्याय र जोखिममा रहेका व्यक्ति तथा समुदायको पक्षमा योगदान गर्ने व्यक्तित्वलाई हरेक वर्ष ‘सिर्जनशील समानता पुरस्कार’ प्रदान गर्दै आएको जनाएको छ। कठिन सामाजिक तथा व्यक्तिगत परिस्थितिलाई सामना गर्दै त्यसलाई सामाजिक परिवर्तनको शक्तिमा रूपान्तरण गर्ने महिलाको योगदानलाई सार्वजनिक रूपमा सम्मान गर्नु पुरस्कारको मुख्य उद्देश्य रहेको संस्थाले जनाएको छ।

३३ वटा दीप प्रज्वलन गरेर उद्घाटन

स्थापना दिवस कार्यक्रमको उद्घाटन पूर्व स्थानीय विकासमन्त्री तथा संस्थाका सल्लाहकार अमृतकुमार बोहरा, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, संस्थाका संस्थापक र साधारण सदस्यहरूले संयुक्त रूपमा ३३ वटा दीप प्रज्वलन गरी गरेका थिए।

कार्यक्रममा संस्थाकी अभियन्ता टिका थापाले सांगीतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो। विभिन्न क्षेत्रका प्रतिनिधि, महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ताको सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ।

तीन दशकदेखि महिला अधिकारको अभियानमा

ग्रामीण महिला सिर्जनशील परिवारको स्थापना वि.सं. २०५० साल साउन ३२ गते भएको हो। स्थापनाकालदेखि नै संस्थाले ग्रामीण क्षेत्रमा महिलामाथि हुने विभेद, हिंसा, मानव बेचबिखन, आधुनिक दासता तथा अन्य सामाजिक विकृतिविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ।

संस्थाले महिला अधिकार र सामाजिक न्यायसँगै बालबालिका तथा किशोरकिशोरीको शिक्षा, अधिकार संरक्षण र सुरक्षित वातावरण निर्माणका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ। ग्रामीण तथा पिछडिएका समुदायमा अधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्ने, हिंसामा परेका व्यक्तिलाई सहयोग गर्ने र सामाजिक विभेदविरुद्ध आवाज उठाउने कार्यलाई संस्थाले आफ्नो प्राथमिकतामा राख्दै आएको छ।

संस्थापक अध्यक्ष देवी अधिकारीले विभिन्न चुनौतीका बीच पनि समुदायदेखि जिल्लास्तरसम्म बालबालिकाको अधिकार संरक्षण तथा सामाजिक रूपान्तरणका लागि संस्थाले निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले तीन दशकभन्दा लामो यात्रामा संस्थाले महिला तथा बालबालिकाको पक्षमा सञ्चालन गरेका अभियानले समुदायमा सकारात्मक प्रभाव पार्दै आएको उल्लेख गर्नुभयो।

अग्रज महिलाको संघर्षले वर्तमान पुस्तालाई बाटो देखायो

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा महिलाले विगतमा भोग्दै आएका हिंसा, विभेद, सामाजिक बन्धन र चुनौतीविरुद्ध अग्रज महिलाले गरेको संघर्षको चर्चा गरिएको थियो। वक्ताहरूले महिलाले आज संवैधानिक तथा कानुनी अधिकार प्राप्त गर्न र सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा नेतृत्व स्थापित गर्न अग्रज पुस्ताका महिलाले गरेको संघर्षको महत्वपूर्ण भूमिका रहेको बताएका थिए।

त्रिपुरासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष गीता नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी जिल्ला सभापति माया गुरुङले अग्रज महिलाले सुरु गरेका सचेतना र अधिकारका अभियानले वर्तमान पुस्तालाई नेतृत्वमा आउन आधार तयार गरेको बताउनुभयो।

उहाँहरूले महिला अधिकारका विषयलाई केवल नारामा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै महिलाको नेतृत्व विकास, आर्थिक आत्मनिर्भरता र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो।

जनप्रतिनिधिको भूमिकालाई सम्मान

कार्यक्रममा लिसङ्खुपाखर, भोटेकोशी, जुगल, त्रिपुरासुन्दरी र सुनकोशी गाउँपालिका तथा बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकाका निवर्तमान महिला जनप्रतिनिधिहरूलाई पनि सम्मान गरिएको छ।

संघीय शासन प्रणालीको नयाँ अभ्यासका क्रममा स्थानीय तहमा संस्थागत संरचना निर्माण, स्रोत व्यवस्थापन र कार्यसम्पादनका विभिन्न चुनौती देखिएका बेला उनीहरूले न्यायबाट वञ्चित तथा हिंसा र अन्यायबाट प्रभावित व्यक्ति तथा समुदायको पक्षमा भूमिका खेलेको संस्थाले जनाएको छ।

जनप्रतिनिधिका रूपमा प्राप्त सुविधा र अवसरलाई मात्र प्राथमिकता नदिई पीडित तथा प्रभावित नागरिकलाई आवश्यक सेवा, सहयोग तथा कानुनी र न्यायिक प्रक्रियामा पहुँच स्थापित गराउन उनीहरूले खेलेको भूमिकाको कदरस्वरूप सम्मान गरिएको आयोजकको भनाइ छ।

सामाजिक न्यायका लागि निरन्तर अभियान आवश्यक

कार्यक्रमका प्रमुख अतिथि अमृतकुमार बोहराले पितृसत्तात्मक सामाजिक संरचनाका कारण महिलाका आवाज अझै पनि समाजका विभिन्न तहमा सीमित हुने गरेको बताउनुभयो। उहाँले महिला अधिकारका विषयमा चेतना बढे पनि व्यवहारमा समानता कायम गर्न अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।

बोहराले महिला अधिकार र सामाजिक न्यायका क्षेत्रमा ग्रामीण महिला सिर्जनशील परिवारले लामो समयदेखि गर्दै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। सामाजिक संरचनामा रहेको विभेद अन्त्य गर्न राज्य, समुदाय, नागरिक समाज र विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

सम्मानित व्यक्तित्व सुशिला पाख्रिनले महिलाले जीवनमा आइपर्ने दुःख, कठिनाइ र चुनौतीलाई सामना गर्दै एकताबद्ध भएर अघि बढिरहेको बताउनुभयो। प्राप्त सम्मानले आफूहरूलाई सामाजिक न्याय र महिला अधिकारको अभियानमा थप सक्रिय भएर काम गर्ने ऊर्जा तथा उत्साह प्रदान गरेको उहाँले बताउनुभयो।

समानता र न्यायको अभियानलाई निरन्तरता

ग्रामीण महिला सिर्जनशील परिवारले ३३ वर्षको यात्रामा महिला अधिकार, लैङ्गिक समानता, हिंसामुक्त समाज निर्माण, सामाजिक समावेशीकरण तथा मानव अधिकारका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

पितृसत्तात्मक सामाजिक संरचनाबाट सिर्जित लैङ्गिक, जातीय तथा भौगोलिक विभेद र असमानताबाट प्रभावित व्यक्ति तथा समुदायको अधिकार, आत्मसम्मान र अस्तित्वका लागि संस्थाले निरन्तर आवाज उठाउँदै आएको छ।

संस्थाका अनुसार महिलाले जीवनमा भोगेका कठिन परिस्थिति, हिंसा तथा विभेदका अनुभवलाई निराशा र निष्क्रियतामा सीमित नगरी सकारात्मक परिवर्तनको आधार बनाउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ। महिलाको नेतृत्व विकास, अधिकारको संरक्षण र न्यायमा पहुँच विस्तारलाई संस्थाले प्राथमिकतामा राख्ने जनाएको छ।

स्थापना दिवसले संस्थाको विगतको योगदानको समीक्षा गर्नुका साथै आगामी दिनको कार्यदिशाबारे समेत प्रतिबद्धता व्यक्त गर्ने अवसर दिएको आयोजकको भनाइ छ। तीन दशकभन्दा लामो यात्रामा महिला तथा बालबालिकाका अधिकारका क्षेत्रमा भएका कामलाई संस्थाले सामाजिक परिवर्तनको महत्वपूर्ण आधारका रूपमा लिएको छ।

कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव कल्पना कार्कीले गर्नुभएको थियो। उपस्थित अतिथि तथा सहभागीलाई संस्थाकी उपाध्यक्ष सुमित्रा अधिकारीले स्वागत गर्नुभएको थियो। कार्यक्रमको समापन संस्थाकी अध्यक्ष नानीमाया थापाले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै गर्नुभएको थियो।

३ भाद्र २०८३, बुधबार ०८:१५