देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन गृह मन्त्रालयमा

जनतापत्र, काठमाडौँ ।
सुनसरी र सिरहामा भएका दुई छुट्टाछुट्टै घटनाको अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम पूरा गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते हिन्दु र मुस्लिम समुदायबीच भएको विवाद हिंसामा परिणत हुँदा तीन जनाको मृत्यु भएको थियो। घटनामा गोली लागेर ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको ज्यान गएको थियो।

त्यस्तै, सिरहाको गोलबजारमा साउन १४ गते भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।

यी दुवै घटनापछि सरकारले छुट्टाछुट्टै छानबिन समिति गठन गरी स्थलगत अध्ययन तथा अनुसन्धान अघि बढाएको थियो। मंगलबार दुवै समितिले गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार समितिबाट प्राप्त प्रतिवेदनमा उल्लेखित निष्कर्ष र सिफारिस अहिले मन्त्रालयले अध्ययन गरिरहेको छ। अध्ययनपछि घटनाको प्रकृति र समितिका सुझावका आधारमा आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ।

कप्तानगञ्ज घटनाको छानबिन सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गरिएको थियो भने गोलबजार घटनाका लागि सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा समिति गठन गरिएको थियो। दुवै समितिले घटनाको पृष्ठभूमि, घटनाक्रम तथा त्यसबाट उत्पन्न परिस्थितिबारे अध्ययन गरेर सरकारलाई सुझावसहित प्रतिवेदन बुझाएका हुन्।

२ भाद्र २०८३, मंगलवार १३:५०