काठमाडौं — दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेका छन्। उनी दक्षिण कोरियाबाट चार्टर्ड विमानमार्फत नेपाल आएका हुन्।
नेपाल बसाइका क्रममा चो ह्युनले नेपाली विदेशमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटका क्रममा पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षति तथा त्यसपछि भइरहेको खोज, उद्धार र राहत कार्यबारे छलफल हुने बताइएको छ।
भोटेकोशीमा आएको बाढीका कारण अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण क्षेत्रमा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिक सम्पर्कविहीन भएका थिए। उनीहरूमध्ये छ जना दोसान इनर्जीबिलिटी र तीन जना कोरिया साउथ–इस्ट पावरमा कार्यरत रहेको बताइएको छ।
विदेशमन्त्री चोले ती नागरिकको खोजी तथा उद्धारका लागि भइरहेको प्रयासबारे नेपाली पक्षबाट विस्तृत जानकारी लिने अपेक्षा गरिएको छ। यसअघि पनि उनले नेपाली समकक्षी खनालसँग टेलिफोनमार्फत कुराकानी गर्दै बेपत्ता नागरिकको खोजीलाई थप तीव्र बनाउन आग्रह गरेका थिए।
चो ह्युनले आफ्नो नेपाल भ्रमणका क्रममा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्ने सम्भावना पनि रहेको स्रोतले जनाएको छ।
२० भाद्र २०८३, शनिबार १९:४५