बाढीपहिरो प्रभावितलाई जुगल थालखर्क होल्चे खानेपानी समितिको आर्थिक साथ

सिन्धुपाल्चोक, १७ भदौ । पछिल्लो समय विभिन्न जिल्लामा गएको बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सिन्धुपाल्चोकको जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिले आर्थिक सहयोग उपलब्ध गराएको छ।

समितिले पीडितका लागि ५ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको हो। संकलित रकमको चेक समितिका अध्यक्ष सुभाष कर्माचार्यसहितको टोलीले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो।

प्राकृतिक विपत्तिका कारण ठूलो संख्यामा नागरिक प्रभावित भइरहेका बेला आफ्नो तर्फबाट राहत अभियानमा योगदान गर्ने उद्देश्यले रकम जुटाइएको अध्यक्ष कर्माचार्यले बताए।

उनका अनुसार बाढीपहिरो प्रभावित नागरिकको तत्काल उद्धार, सुरक्षित बसोबास र आगामी दिनमा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले समितिले आफ्नो सामाजिक दायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको हो।

भोटेकोशीसहित रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा बाढीपहिरोले जनजीवन प्रभावित बनाएपछि अहिले राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ।

स्थानीयस्तरमा खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्दै आएको उपभोक्ता समितिले विपद्का बेला पीडित नागरिकका लागि आर्थिक सहयोग जुटाएको भन्दै स्थानीय प्रशासन तथा सर्वसाधारणले सकारात्मक रूपमा लिएका छन्।

समितिले उपलब्ध गराएको सहयोगले विपद्बाट प्रभावित परिवारको राहत र पुनःस्थापनामा केही भए पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।

१७ भाद्र २०८३, बुधबार १०:५६