बाढीपहिरो पीडितका लागि चौतारा नगरपालिकाबाट ३५ लाख सहयोग

सिन्धुपाल्चोक — बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिकाले ३५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। नगरपालिकाले जनप्रतिनिधि, शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीको पारिश्रमिकबाट निश्चित रकम कटौती गरेर उक्त सहयोग जुटाएको हो।

नगरपालिकाका अनुसार २०८३ साल भदौ महिनाको तलब तथा भत्ताबाट पद, तह र श्रेणीअनुसार ३ देखि १० दिन बराबरको रकम कटौती गरिएको छ। यसरी संकलन भएको ३५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगरपालिकाले जनाएको छ।

रसुवाको भोटेकोशी नदी आसपास तथा नदी तटीय क्षेत्रमा आएको बाढीपहिरोबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाको भनाइ छ।

यसैबीच, चौतारा साँगाचोकगढी नगरपालिकाका १२ जना स्थानीय बाढी प्रभावित रसुवा क्षेत्रमा रोजगारी तथा अन्य कामका लागि पुगेका क्रममा सम्पर्कविहीन भएका छन्। उनीहरूको अवस्थाबारे अहिलेसम्म यकिन जानकारी प्राप्त नभएको नगरपालिकाले जनाएको छ। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि सम्बन्धित केन्द्रीय कमान्ड पोस्टसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको बताइएको छ।

विपद्का क्रममा नगरपालिकाभित्रका कुनै नागरिकको मृत्यु भएमा परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय पनि नगरपालिकाले गरेको छ। त्यसअनुसार नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट मृतकका परिवारलाई प्रतिपरिवार १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिनेछ।

नगरपालिकाले बाढीपहिरोका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को समयमा उद्धार, राहत र सुरक्षित पुनःस्थापनाका लागि सरकारी निकाय, संघसंस्था तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको जनाएको छ।

१८ भाद्र २०८३, बिहीबार १०:१०