काठमाडौं — पछिल्ला बाढी तथा पहिरोका कारण विद्युत् उत्पादन र प्रसारण संरचनामा ठूलो क्षति पुगेपछि ६२० मेगावाट क्षमताका १९ आयोजना तत्काल सञ्चालनमा ल्याउन नसकिने भएका छन्। यसले आगामी हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढी तथा असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढी–पहिरोबाट कुल १ हजार २९२ मेगावाट उत्पादन क्षमताका आयोजना प्रभावित भएका थिए। तीमध्ये ६२० मेगावाट बराबरका आयोजना लामो समय बन्द रहने देखिएको हो।
भोटेकोशी बाढीबाट १२ आयोजना प्रभावित
भोटेकोशी बाढीबाट प्रभावित ४३०.८ मेगावाट क्षमताका १२ आयोजना तत्काल सञ्चालनमा आउने अवस्थामा छैनन्।
प्राधिकरणका अनुसार प्रभावित आयोजनामा १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, ४२.५ मेगावाटको तल्लो सान्जेन, २४ मेगावाटको त्रिशूली र २५ मेगावाटको एनईए सोलार आयोजना छन्।
त्यस्तै, २२.१ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, १४.८ मेगावाटको माथिल्लो सान्जेन, १४.३ मेगावाटको माथिल्लो मैलुङ, १४.१ मेगावाटको देवीघाट र ५ मेगावाटको मैलुङ खोला पनि प्रभावित भएका छन्।
यीमध्ये अधिकांश आयोजनाका विद्युत्गृह, बाँध तथा अन्य संरचनामा बाढीले क्षति पुर्याएको छ। क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्नुपर्ने भएकाले तत्कालै उत्पादन सुरु गर्न नसकिने प्राधिकरणले जनाएको छ।
कालीगण्डकी करिडोरका सात आयोजना पनि रोकिए
असोजको बाढी र पहिरोका कारण २२० केभी कालीगण्डकी करिडोरको कुश्मा–दाना प्रसारण खण्डमा समेत क्षति पुगेको छ। उक्त प्रसारणलाइनका तीनवटा टावरमा क्षति पुगेपछि कुश्माभन्दा माथिल्लो क्षेत्रमा रहेका सात आयोजनाको करिब १९० मेगावाट उत्पादन राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन।
प्रभावित आयोजनामा ३८ मेगावाटको नीलगिरि–१, ७१ मेगावाटको नीलगिरि–२, ४२ मेगावाटको मिस्त्री, १३.६ मेगावाटको थापाखोला, १४.८ मेगावाटको घारखोला, ६ मेगावाटको रेलेखोला र ५ मेगावाटको घलेम्दी छन्।
प्रसारणलाइनका क्षतिग्रस्त संरचना मर्मत गरेर विद्युत् प्रवाह पुनः सञ्चालन गर्न केही समय लाग्ने प्राधिकरणको अनुमान छ।
केही आयोजनाको उत्पादन भने पुनः सुरु
बाढीका बेला सम्भावित क्षति रोक्न अस्थायी रूपमा बन्द गरिएका केही आयोजनाले भने पुनः विद्युत् उत्पादन थालेका छन्। कालीगण्डकी र मर्स्याङ्दी करिडोरका करिब १४४ मेगावाट क्षमताका आयोजना पुनः सञ्चालनमा आइसकेका छन्।
यसैगरी ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आउन भने अझै केही दिन लाग्ने अनुमान छ। परीक्षण उत्पादन सुरु गरेको करिब एक सातामै बाढीको असर परेको उक्त आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ। टर्बाइन फ्लोरमा समेत पानी पसेकाले सफाइ तथा मर्मतपछि मात्र उत्पादन सुरु गर्न सकिने बताइएको छ।
प्राधिकरणका अनुसार राहुघाट पुनः सञ्चालन गर्न करिब १० दिन लाग्न सक्छ। आयोजनाको स्विचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको छ।
हिउँदमा आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुने
६२० मेगावाट उत्पादन प्रणालीबाट बाहिरिएपछि हिउँदमा विद्युत् माग धान्न चुनौती थपिएको छ। हिउँदमा उत्पादन घट्ने र माग बढ्ने भएकाले बन्द आयोजनाको प्रभाव आपूर्ति व्यवस्थापनमा देखिन सक्ने प्राधिकरणको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरणका भारप्रेषण केन्द्र प्रमुख अच्युत घिमिरेका अनुसार उपभोक्तालाई लोडसेडिङमा जान नदिने गरी वैकल्पिक व्यवस्थाको तयारी भइरहेको छ।
उनका अनुसार कुश्मा–दाना प्रसारणलाइनका क्षतिग्रस्त टावर सकेसम्म छिटो पुनर्निर्माण गर्ने प्रयास भइरहेको छ। त्रिशूली करिडोरमा समेत अस्थायी रूपमा १३२ केभी र २२० केभी प्रसारण संरचनामार्फत विद्युत् प्रवाह गर्न सकिने विकल्पबारे काम भइरहेको छ।
प्राधिकरणले आवश्यक परे भारतबाट विद्युत् आयात बढाउने जनाएको छ। आयातबाट पनि माग पूरा गर्न नसक्ने अवस्था आए पिक आवरमा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्नुपर्ने हुन सक्ने भए पनि घरेलु उपभोक्तालाई लोडसेडिङ नगर्ने प्राधिकरणको भनाइ छ।
१५ आश्विन २०८३, बिहीबार १०:३१