एपीएफद्वारा १ लाख ६ हजारभन्दा बढी ट्रामाडोल बरामद, दुई पक्राउ

काठमाडौं — सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट ठूलो परिमाणमा लागुऔषध ट्रामाडोल बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा सोमबार दिउँसो ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको अपरेसनका क्रममा १७ हजार ४०० क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भई हाल सातदोबाटो बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुल बस्दै आएका ३२ वर्षीय सुजित देउला रहेको सशस्त्र प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट ट्रामाडोलका ५८ बक्स, १ हजार ७४० फाइल अर्थात् १७ हजार ४०० क्याप्सुल तथा एउटा स्कुटर बरामद भएको थियो।

त्यसपछि अनुसन्धानका क्रममा ललितपुर महानगरपालिका–७ का ४२ वर्षीय अर्जुन भुजेलको कोठामा खानतलासी गर्दा खाटमुनि रहेको सोकेशबाट थप ८९ हजार १०० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। यससँगै बरामद ट्रामाडोलको कुल संख्या १ लाख ६ हजार ५०० क्याप्सुल पुगेको छ।

इन्टेलिजेन्स ब्यूरोका अनुसार ‘केजीएफ च्याप्टर–२’ नामबाट ठूलो लागुऔषध सञ्जाल सञ्चालन भइरहेको सूचनाका आधारमा यसअघि पनि विशेष अपरेसन गरिएको थियो। उक्त अपरेसनमा २ लाखभन्दा बढी लागुऔषध बरामद गरिएको जनाइएको छ।

बरामद लागुऔषधको स्रोत, वितरण सञ्जाल तथा संलग्न समूहबारे थप अनुसन्धान गर्न पक्राउ परेका व्यक्तिसहित बरामद सामग्री नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

२३ भाद्र २०८३, मंगलवार १४:४१