जनतापत्र,हेटौँडा ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा हेटौँडामा सम्पन्न भएको “बागमती मिडिया सम्मेलन २०८३” ले पत्रकारिताका समसामयिक चुनौती, अवसर र सञ्चार क्षेत्रको भूमिकाबारे व्यापक बहस गरेको छ। “विश्वसनीय पत्रकारिता, सक्षम लोकतन्त्र” भन्ने मूल नारासहित आयोजित सम्मेलनमा बागमती प्रदेशका पत्रकार, सञ्चारकर्मी, नीति निर्माता तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्मेलनका प्रमुख वक्ता पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले लोकतन्त्रको सुदृढीकरणमा स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो। उहाँले सूचना प्रवाहमा विश्वसनीयता कायम राख्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो।
सम्मेलनअन्तर्गत आयोजित विभिन्न सत्रमा पत्रकारिता क्षेत्रका संकट, चुनौती र सम्भावनाबारे छलफल गरिएको थियो। “बदलिँदो पत्रकारितामा संकट, चुनौती र अवसर” विषयक सत्रमा पत्रकारिता पेशाले डिजिटल युगमा सामना गरिरहेका समस्यासँगै नयाँ अवसरहरूको चर्चा गरिएको थियो।
त्यसैगरी “गुणस्तरीय पत्रकारिता स् सत्य, तथ्य र विश्वासको आधार” विषयमा वक्ताहरूले पत्रकारितामा आचारसंहिता, व्यावसायिकता तथा विश्वसनीयताको महत्वमाथि जोड दिएका थिए। उनीहरूले गलत सूचना र भ्रामक सामग्रीको बढ्दो चुनौतीलाई सामना गर्न जिम्मेवार पत्रकारिता आवश्यक रहेको बताए।

“समाजको आँखामा मिडिया स् विश्वास, प्रभाव र जिम्मेवारी” विषयक सत्रमा सञ्चारमाध्यमप्रतिको जनविश्वास, सामाजिक प्रभाव तथा पत्रकारको उत्तरदायित्वबारे विचार आदानप्रदान गरिएको थियो।
सम्मेलनले डिजिटल युगमा पत्रकारिताको विश्वसनीयता अभिवृद्धि, गलत सूचना नियन्त्रण तथा लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्न सञ्चार क्षेत्रले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष निकालेको आयोजकले जनाएको छ।
२३ जेष्ठ २०८३, शनिबार २३:१९