बागमती प्रदेश खेलकुद प्रतियोगितामा सिन्धुपाल्चोकलाई स्वर्ण र रजत पदक

जनतापत्र,सिन्धुपाल्चोक ।
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लालाई महत्वपूर्ण सफलता दिलाएका छन्। एथलेटिक्स विधाअन्तर्गत प्रतिस्पर्धा गरेका खेलाडीहरूले स्वर्ण र रजत पदक जित्दै जिल्लाको गौरव बढाएका हुन्।

प्रतियोगितामा बिस्वरामा कुँवरले १५०० मिटर दौडमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरी स्वर्ण पदक जित्न सफल हुनुभएको छ। त्यसैगरी सलिना माझीले हाइजम्प प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्दै रजत पदक हात पार्नुभएको छ।

खेलाडीहरूको यस उपलब्धिले सिन्धुपाल्चोक जिल्लाको खेलकुद क्षेत्रको सम्भावना र प्रतिभालाई उजागर गरेको छ। प्रतियोगितामा सहभागी खेलाडीहरूले कडा मेहनत, अनुशासन र लगनशीलताका साथ उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको नाम प्रदेशस्तरमा स्थापित गर्न सफल भएका छन्।

जिल्लाका खेलप्रेमी, प्रशिक्षक, अभिभावक तथा सरोकारवालाहरूले खेलाडीहरूको सफलताप्रति खुसी व्यक्त गर्दै हार्दिक बधाई दिएका छन्। उनीहरूले आगामी दिनमा पनि यस्तै उत्कृष्ट प्रदर्शनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा प्राप्त यस सफलताले सिन्धुपाल्चोकका युवा खेलाडीहरूलाई थप उत्साह र प्रेरणा प्रदान गरेको छ। जिल्लाका गौरवशाली खेलाडीहरूको उपलब्धिले समग्र खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा सकारात्मक सन्देश दिएको सरोकारवालाहरूले बताएका छन्।

२ असार २०८३, मंगलवार १२:५८