बागमतीमा नयाँ मन्त्रिपरिषद् गठन, ६ मन्त्रीले लिए शपथ

हेटौँडा — बागमती प्रदेशमा मुख्यमन्त्री किरण थापा मगरले सरकार विस्तार गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको केही घण्टामै उनले ६ जना मन्त्री नियुक्त गर्दै ७ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन्।

बिहीबार आयोजित समारोहमा मुख्यमन्त्री थापा मगरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट पद तथा गोपनीयताको शपथ लिए। त्यसलगत्तै नवनियुक्त ६ मन्त्रीले पनि शपथ ग्रहण गरेका छन्।

सरकारमा एमालेका भरत केसीलाई भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ। ज्ञानबहादुर तामाङलाई भने तत्काल कुनै मन्त्रालयको जिम्मेवारी नदिई बिनाविभागीय मन्त्री बनाइएको छ।

त्यस्तै नेकपाका सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन्। राप्रपाका राजु विष्टले खानेपानी मन्त्रालय सम्हाल्नेछन्।

गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक विकासमन्त्री र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा रोजगारमन्त्री नियुक्त भएका छन्।

लामो समयदेखि जारी राजनीतिक छलफल र शक्ति बाँडफाँटको प्रक्रियापछि थापा मगर बिहीबार बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्तिसँगै उनले सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्।

४ भाद्र २०८३, बिहीबार १९:४४