बञ्चरेडाँडा ल्यान्डफिल चार वर्षमै भरियो, स्थानीयमा बढ्दो समस्या

नुवाकोट — काठमाडौं उपत्यकासहित विभिन्न स्थानीय तहको फोहोर व्यवस्थापनका लागि निर्माण गरिएको बञ्चरेडाँडा ल्यान्डफिल साइट सञ्चालनमा आएको चार वर्षमै भरिन थालेको छ। करिब २० वर्ष चलाउने लक्ष्यसहित बनाइएको संरचना फोहोर वर्गीकरण नगरी विसर्जन गरिँदा अपेक्षाभन्दा छिटो भरिएको हो।

बञ्चरेडाँडामा दैनिक ठूलो परिमाणमा फोहोर पुग्दा लिच्चड व्यवस्थापनमा समेत समस्या देखिएको छ। ड्याम भरिएर लिच्चड खोलामा मिसिन थालेको र नियमित रूपमा फोहोर नछोपिँदा दुर्गन्ध तथा झिँगाको समस्या बढेको स्थानीयको गुनासो छ।

फोहोर विसर्जनस्थल आसपासका बस्तीमा वातावरणीय प्रदूषणसँगै स्वास्थ्य, कृषि र पशुपालनमा असर परेको स्थानीय बताउँछन्। खेतीको उत्पादन घटेको, पशुपालन कठिन बनेको तथा विभिन्न स्वास्थ्य समस्या बढेको उनीहरूको भनाइ छ।

कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा समस्या झन् गम्भीर बनेको छ। स्थानीयले दीर्घकालीन रूपमा फोहोरको वैज्ञानिक व्यवस्थापन र वातावरणीय असर न्यूनीकरणको माग गर्दै आएका छन्।

४ भाद्र २०८३, बिहीबार २१:१३