बाँझो निजी जग्गामा ३ हजार फलफूलका बिरुवा रोप्न सहकारीको अभियान

जनतापत्र,सिन्धुपाल्चोक ।
बाँझो रहेका निजी जग्गालाई उत्पादनमूलक बनाउने उद्देश्यले कमलको फूल सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई विभिन्न प्रजातिका फलफूलका बिरुवा वितरण गरी वृक्षरोपण अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत टिमुर, कागती, आँप, लिची, कटहर, एभोकाडो र लप्सीका गरी करिब ३ हजार बिरुवा सदस्यहरूको निजी जग्गामा रोप्नका लागि वितरण गरिएको हो।

सहकारीले खेतीयोग्य तर उपयोगविहीन जमिनलाई फलफूल खेतीमार्फत आयआर्जनको स्रोत बनाउने लक्ष्यसहित यो कार्यक्रम अघि बढाएको जनाएको छ। फलफूल खेती विस्तारसँगै वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र कृषकको आर्थिक अवस्था सुदृढ बनाउन अभियानले महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

कार्यक्रमका लागि आवश्यक बिरुवा डिभिजन वन कार्यालयले सहयोगस्वरूप उपलब्ध गराएको हो। वन कार्यालयको सहयोगले स्थानीय स्तरमा वृक्षरोपण अभियानलाई थप प्रभावकारी बनाएको सहकारीका पदाधिकारीहरूले बताएका छन्।

सहकारीका अनुसार सदस्यहरूले आफ्ना बाँझो जग्गामा बिरुवा रोपेर नियमित हेरचाह गर्ने प्रतिबद्धता जनाएका छन्। आगामी वर्षहरूमा यी बिरुवाबाट उत्पादन हुने फलफूलले स्थानीय बजारको माग पूरा गर्नुका साथै कृषकको आम्दानीसमेत वृद्धि हुने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालयले पनि वन संरक्षणसँगै निजी जग्गामा बहुउपयोगी र फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ। यस्ता कार्यक्रमले हरित वातावरण निर्माण, भू–क्षय नियन्त्रण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ।

३२ असार २०८३, बिहीबार १४:४८