बलेफी बजारको सडकले फेरियो स्वरूप, सडक विस्तारसहित कालोपत्रे


जनतापत्र,सिन्धुपाल्चोक ।
बलेफी गाउँपालिका–५ स्थित बलेफी बजार क्षेत्रको सडक विस्तार तथा कालोपत्रे सम्पन्न भएपछि बजार क्षेत्रको स्वरूप फेरिएको छ । जलविरे–ढाडे सडकखण्डको मुखमा पर्ने बलेफी बजार साँघुरो भएकाले लामो समयदेखि स्थानीयवासी तथा सवारी चालकले आवागमनमा सास्ती खेप्दै आएका थिए। अहिले सडक विस्तारसँगै कालोपत्रे भएपछि स्थानीयमा खुसी छाएको छ ।


बलेफी बजार हुँदै दैनिक सयौँ सवारीसाधन आवतजावत गर्ने भए पनि सडक साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको थियो । विशेष गरी बजार क्षेत्रमा दुईतर्फी सवारी सञ्चालन गर्न समस्या हुने, पैदलयात्रीलाई हिँड्न असहज हुने र वर्षायाममा हिलो तथा धुलोका कारण थप सास्ती हुने अवस्था थियो ।
स्थानीयको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङको पहलमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सडक विस्तारको काम अघि बढाइएको थियो । बजेट व्यवस्थापन, आवश्यक समन्वय र निर्माण कार्यलाई प्राथमिकतामा राखिएपछि सडक फराकिलो बनाउँदै कालोपत्रे गरिएको हो ।
सडक विस्तारपछि बलेफी बजारको सौन्दर्य मात्र बढेको छैन, सवारी सञ्चालन पनि सहज बनेको छ । फराकिलो सडकका कारण जामको समस्या घटेको, पैदलयात्रीलाई सुरक्षित रूपमा हिँडडुल गर्न सहज भएको तथा बजार क्षेत्र व्यवस्थित देखिन थालेको स्थानीयवासीले बताएका छन् ।
स्थानीय व्यापारीहरूका अनुसार सडक विस्तार र कालोपत्रेपछि बजारको व्यापार व्यवसायमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । व्यवस्थित सडकले बाहिरी क्षेत्रबाट आउने सर्वसाधारणलाई सहज पहुँच दिलाउने भएकाले आर्थिक गतिविधि समेत बढ्ने विश्वास गरिएको छ ।
गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले पूर्वाधार विकासलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको उल्लेख गर्दै नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रका योजनालाई क्रमशः अघि बढाइरहेको बताए । उनले विकास निर्माणका कार्यमा स्थानीयवासीको साथ र सहयोग आवश्यक रहेको पनि उल्लेख गरे ।
बलेफी गाउँपालिका–५ को बलेफी बजार क्षेत्रमा सम्पन्न भएको सडक विस्तार तथा कालोपत्रे कार्यलाई स्थानीयले विकासको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । यसले आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउनुका साथै बलेफी बजारको समग्र स्वरूप परिवर्तन गरेको स्थानीयको भनाइ छ ।

३२ असार २०८३, बिहीबार ११:२५