जनतापत्र,सिन्धुपाल्चोक ।
स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पु¥याउने उद्देश्यसहित सुनकोशी गाउँपालिका–७ मा दीर्घरोगी तथा अशक्त नागरिकका लागि घरदैलोमै स्वास्थ्य सेवा प्रदान गरिएको छ। वडा नं. ७ को आयोजना तथा पाङग्रेटार स्वास्थ्य चौकीको समन्वयमा आर्थिक वर्ष २०८२÷८३ अन्तर्गत प्रशामक(Palliative Care)सेवा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमअन्तर्गत दीर्घरोगका कारण घरबाहिर निस्कन नसक्ने तथा लामो समयदेखि घरमै उपचाररत बिरामीहरूको घर–घरमा पुगेर स्वास्थ्य परीक्षण, आवश्यक औषधि तथा परामर्श सेवा प्रदान गरिएको थियो। स्वास्थ्यकर्मीहरूले बिरामीको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्दै आवश्यक स्वास्थ्य परामर्श र नियमित उपचारका विषयमा परिवारलाई समेत जानकारी गराएका थिए।
स्वास्थ्य सेवा प्रदान गर्ने टोलीसँगै वडा अध्यक्ष ईश्वर तिमल्सिना, वडा सदस्यहरू तथा वडा कार्यालयका सचिवको समेत सक्रिय सहभागिता रहेको थियो। जनप्रतिनिधिहरूले बिरामीको अवस्था बुझ्दै उनीहरूको मनोबल बढाउने र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा बिरामीहरूको व्यक्तिगत सरसफाइलाई विशेष प्राथमिकता दिँदै प्रत्येक सेवाग्राहीलाई हाइजिन प्याकेज पनि वितरण गरिएको थियो। सरसफाइ सामग्रीको प्रयोगले संक्रमणको जोखिम कम गर्न र बिरामीको दैनिक जीवनलाई सहज बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
घरमै स्वास्थ्य सेवा प्राप्त गरेपछि सेवाग्राही तथा उनीहरूका परिवारले खुशी व्यक्त गर्दै स्थानीय सरकार र स्वास्थ्यकर्मीप्रति आभार प्रकट गरेका छन्। स्वास्थ्य संस्था पुग्न कठिन भएका बिरामीलाई घरमै पुगेर सेवा दिइएकोले आफूहरूलाई ठूलो राहत मिलेको उनीहरूको भनाइ थियो।
कार्यक्रमको समापनमा वडा अध्यक्ष ईश्वर तिमल्सिनाले दीर्घरोगी, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई लक्षित यस्ता कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिने बताउँदै घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन वडा कार्यालय प्रतिबद्ध रहेको जानकारी दिए।
स्वास्थ्यकर्मीहरूले पनि समुदायमै पुगेर सेवा प्रदान गर्न पाउँदा सन्तुष्टि मिलेको उल्लेख गर्दै दीर्घरोगीको नियमित स्वास्थ्य निगरानी, समयमै परामर्श र पारिवारिक सहयोगले बिरामीको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
स्थानीय सरकार र स्वास्थ्य संस्थाको सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रमले उपचार सेवाबाट वञ्चित हुनसक्ने नागरिकसम्म स्वास्थ्य सेवा पु¥याउँदै समुदायमा मानवमुखी र पहुँचयुक्त स्वास्थ्य सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
३२ असार २०८३, बिहीबार ११:४०