बँदेल र बाँदरको आतंकले किसानको उठीबास, एकै रातमा मकैबाली सखाप


सुनिता रखाल,चौतारा ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ र १२ का किसानहरू यतिबेला बँदेल र बाँदरको बढ्दो आतंकबाट आजित बनेका छन् । घोगा लागेर पाक्नै लागेको मकैबाली एकै रातमा जङ्गली जनावरले नष्ट गरेपछि किसानको वर्षभरको मेहनत र लगानी जोखिममा परेको छ ।


स्थानीयका अनुसार पछिल्ला दिनहरूमा बँदेल र बाँदरका समूह रातको समयमा खेतबारीमा पसेर मकै खाने, उखेल्ने र कुल्चिएर नष्ट गर्ने क्रम बढेको छ । बिहान खेत वारीमा पुग्दा पाटाका पाटा मकैबारी सोतरिएको दृश्य देख्नुपरेपछि किसानहरू निराश भएका छन् ।
स्थानीय किसान धुर्व गिरीले आफ्नो अधिकांश मकैबाली जङ्गली जनावरले सखाप पारेको बताए । उनले भने, “महिनौँको दुःख, पसिना र लगानी एकै रातमा समाप्त भयो । सुत्ला वनेर घोगा लागदै थियो तर बँदेलले सबै नष्ट गरिदियो । दिनमा वादर रातमा वदेल पसेर सवै मकैवाली नस्ट गरीदिए अब परिवारको खर्च कसरी चलाउने भन्ने चिन्ता थपिएको छ ।“
धुर्व गिरी मात्र नभइ वडा नं. ११ र १२ का दर्जनौँ किसानले यस्तै समस्या भोगिरहेका छन् । रातभर खेत कुरेर बाली जोगाउने प्रयास गरे पनि बँदेल र बाँदरको ठूलो समूहका कारण उनीहरू असहाय बनेका छन् । जङ्गल नजिक रहेका अधिकांश खेतमा मकैबालीमा व्यापक क्षति पुगेको स्थानीयले बताएका छन् ।


किसानहरूका अनुसार मकै मात्र होइन, आलु, कोदो, तरकारी तथा अन्य मौसमी बाली पनि जङ्गली जनावरको निशानामा पर्दै आएका छन् । वर्षेनी क्षति बढ्दै जाँदा खेतीपातीबाट जीविकोपार्जन गर्न कठिन हुँदै गएको उनीहरूको भनाइ छ ।
स्थानीयले वन्यजन्तुको समस्या समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन् । विद्युतीय तारबार, जालीबार, सामुदायिक सुरक्षा व्यवस्था, वन्यजन्तु नियन्त्रणका प्रभावकारी उपाय तथा क्षतिपूर्ति व्यवस्थाको माग उनीहरूले गरेका छन् । किसानहरूले स्थानीय सरकार, डिभिजन वन कार्यालय तथा सम्बन्धित निकायले तत्काल पहल नगरे खेतीयोग्य जमिन बाँझो हुने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
स्थानीय तहका अध्यक्ष एवं जनप्रतिनिधिहरूले किसानको समस्याप्रति गम्भीर ध्यानाकर्षण गर्दै केही स्थानमा तारवारको व्यवस्था गरेपनि त्यसले अपुग भएको जनाउँदै सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन समाधानका लागि पहल गरिने बताएका छन् ।
कृषि नै मुख्य आयस्रोत भएका चौतारा साँगाचोकगढी नगरपालिका–११ र १२ का किसानका लागि बँदेल र बाँदरको बढ्दो आतंक ठूलो चुनौती बनेको छ । समयमै प्रभावकारी नियन्त्रणका उपाय लागू गर्न नसकिए किसानको उत्पादन, आम्दानी र कृषि पेशाप्रतिको विश्वासमा थप असर पर्ने देखिएको छ ।

३२ असार २०८३, बिहीबार १२:२२