बलेफी गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा

जनतापत्र,सिन्धुपाल्चोक ।

बलेफी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ। विहिवार आयोजित एक विशेष कार्यक्रमका बीच गाउँपालिकाले बालबालिकाको नियमित खोप सुनिश्चित गर्दै पूर्ण खोपको लक्ष्य हासिल गरेपछि औपचारिक रूपमा घोषणा गरिएको हो।

गाउँपालिका अध्यक्ष श्री गंगा बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्री सरु लामा तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री होम बहादुर राउत, जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख श्री दुर्गा बजगाई, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले पूर्ण खोप सुनिश्चितता घोषणा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसलाई दिगो बनाइराख्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताए। बालबालिकालाई समयमै सबै खोप उपलब्ध गराउन महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा अभिभावकहरूको भूमिका प्रशंसनीय रहेको उनीहरूको भनाइ थियो।

पूर्ण खोप सुनिश्चितता घोषणासँगै बलेफी गाउँपालिकाले बाल स्वास्थ्य संरक्षण तथा रोग नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल गरेको छ। गाउँपालिकाले आगामी दिनमा पनि नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा पूर्ण खोप अभियान सफल बनाउन योगदान पु¥याउने स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायहरूलाई धन्यवाद व्यक्त गरिएको थियो।

२९ जेष्ठ २०८३, शुक्रबार ०५:३३