जनतापत्र,सिन्धुपाल्चोक ।
बलेफी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज एक विशेष समारोहबीच गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले उद्घाटन गर्नुभएको छ। नयाँ प्रशासकीय भवन सञ्चालनमा आएपछि गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा प्रशासकीय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादातासहित गाउँपालिका क्षेत्रभित्र निर्माण भएका स्वास्थ्य संस्था, वडा कार्यालय लगायतका सार्वजनिक संरचनाका लागि जग्गा प्रदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी उत्कृष्ट कर्मचारी, उत्कृष्ट निर्माण व्यवसायी तथा उत्कृष्ट करदातालाई समेत कदरपत्र प्रदान गरी सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, विभिन्न वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै नवनिर्मित भवनले स्थानीय सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउतले स्वागत मन्तव्य राख्दै प्रशासकीय भवन निर्माणमा सहयोग पु¥याउने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्नुभएको थियो।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, जग्गादाता तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा स्थानीय विकास र सुशासन प्रवद्र्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
नवीन भवन उद्घाटनसँगै बलेफी गाउँपालिकाले सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्य लिएको जनाएको छ।
११ असार २०८३, बिहीबार ०७:५०