इन्द्रावती गाउँपालिकाले ग¥यो ८३ करोड १० लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक

जनतापत्र,सिन्धुपाल्चोक ।
इन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ८३ करोड १० लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभामा प्रस्तुत गरिएको बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, पर्यटन तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

गाउँपालिकाले स्थानीय आवश्यकताका आधारमा विकास निर्माणका योजना तथा जनमुखी कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यसहित बजेट विनियोजन गरेको जनाएको छ। बजेटमार्फत कृषि उत्पादन वृद्धि, रोजगार सिर्जना, युवा तथा महिला सशक्तीकरण, विपद् व्यवस्थापन तथा गरिबी न्यूनीकरणका कार्यक्रमलाई समेत समेटिएको छ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, ग्रामीण सडक स्तरोन्नति, खानेपानी तथा सरसफाइ सेवाको विस्तार र कृषि क्षेत्रको आधुनिकीकरणलाई बजेटको मुख्य प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। साथै स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने नीति लिइएको छ।

गाउँसभामा प्रस्तुत बजेटमाथि सदस्यहरूबीच छलफल गरी आवश्यक सुझावहरू समेट्ने प्रक्रिया अगाडि बढाइएको छ। गाउँपालिकाले पारदर्शिता, सुशासन र नागरिक सहभागितालाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गरिने जनाएको छ।

गाउँपालिकाका जनप्रतिनिधिहरूले आगामी आर्थिक वर्षको बजेटले स्थानीय नागरिकको जीवनस्तर उकास्न, आधारभूत सेवामा पहुँच विस्तार गर्न तथा समग्र विकासलाई गति दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

१० असार २०८३, बुधबार २२:५०