पाँचपोखरीको १९औँ गाउँसभा अधिवेशन सम्पन्न, ६२ करोड १७ लाखभन्दा बढीको बजेट सार्वजनिक

जनतापत्र,सिन्धुपाल्चोक ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम, बजेट तथा विभिन्न विकास योजनामाथि छलफल गरी सार्वजनिक गरिएको हो।

गाउँसभाका सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष टासी लामाले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी, युवा तथा महिला सशक्तीकरणलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको अनुमतिमा पालिका प्रवक्ता नारायण भट्टराईले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। गाउँपालिकाले आगामी वर्षका लागि कुल ६२ करोड १७ लाख ९३ हजार १ सय ५० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

प्रस्तुत बजेटमा स्थानीय आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्दै विकास निर्माण, सेवा प्रवाहको सुदृढीकरण, कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, पर्यटन प्रवद्र्धन तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको छ।

अधिवेशनमा सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले गाउँसभाका विभिन्न निर्णयहरू प्रस्तुत गर्नुभएको थियो। गाउँसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि सदस्यहरूले आ–आफ्नो धारणा राख्दै विकास निर्माणलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत समृद्ध, आत्मनिर्भर र विकासोन्मुख पाँचपोखरी थाङपाल निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। गाउँसभा अधिवेशनले आगामी वर्षका विकास योजनाको मार्गचित्र तय गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।

१० असार २०८३, बुधबार २२:४७