चौतारा साँगाचोकगढी नगरपालिकाको २०औँ नगरसभा सम्पन्न, १ अर्ब १९ करोडभन्दा बढीको बजेट सार्वजनिक

सुनिता रखाल चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाको २०औँ नगरसभा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल १ अर्ब १९ करोड ७५ लाख ८१ हजार ७४४ रुपैयाँ बराबरको अनुमानित बजेट पारित तथा सार्वजनिक गरेको छ।

नगरप्रमुखको अध्यक्षतामा सम्पन्न नगरसभामा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो। प्रस्तुत बजेटले नगरवासीलाई प्रभावकारी सेवा प्रवाह गर्दै समग्र विकासलाई गति दिने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ।

नगरसभामा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, पर्यटन, वातावरण संरक्षण, युवा तथा खेलकुद, महिला सशक्तीकरण, सामाजिक सुरक्षा तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जानकारी दिइएको छ। नगरपालिकाले स्थानीय आवश्यकतालाई आधार मानेर विकास निर्माणका कार्यक्रमहरू अघि बढाउने नीति अवलम्बन गरेको जनाएको छ।

बजेट प्रस्तुत गर्दै नगर नेतृत्वले सीमित स्रोतसाधनका बाबजुद नागरिकको अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरिएको बताएको छ। विकास निर्माणसँगै सुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू समेटिएको जनाइएको छ।

नगरसभामा उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

नगरसभाले आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन भएका विभिन्न विकास आयोजना तथा कार्यक्रमहरूको समीक्षा गर्दै आगामी वर्षका लागि थप परिणाममुखी र नागरिककेन्द्रित योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। नगरपालिकाले पूर्वाधार विकाससँगै उत्पादन, रोजगारी सिर्जना र सामाजिक क्षेत्रको विकासलाई पनि समान प्राथमिकतामा राखेको जनाएको छ।

चौतारा साँगाचोकगढी नगरपालिकाको २०औँ नगरसभाबाट पारित बजेटले नगर क्षेत्रको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। नगरपालिकाले सार्वजनिक गरेको बजेट तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी समृद्ध नगर निर्माणको लक्ष्य हासिल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

११ असार २०८३, बिहीबार ०७:४१