जनतापत्र,सिन्धुपाल्चोक ।
जुगल गाउँपालिकाको २० औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ। गाउँसभा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोको अध्यक्षतामा सम्पन्न अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति, कार्यक्रम तथा बजेटमाथि व्यापक छलफल गरी विभिन्न विधेयक तथा प्रतिवेदन पारित गरिएको छ।

अधिवेशनमा गाउँपालिका उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तथा सभा सचिव गौरवराज केसी, वडा अध्यक्षहरू, गाउँसभा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, सहकारी तथा महिला समूहका प्रतिनिधिहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो।
सभामा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरी समीक्षा गरिएको थियो भने आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथि सदस्यहरूबीच विस्तृत छलफल भएको थियो। छलफलका क्रममा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक विकासका विषयमा विभिन्न सुझावहरू प्रस्तुत गरिएका थिए।

अधिवेशनको बन्दसत्रमा विनियोजन विधेयक, २०८३, आर्थिक विधेयक, २०८३ तथा न्यायिक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। गाउँसभाले यी प्रस्तावहरू आवश्यक छलफलपछि पारित गरेको जनाएको छ।
गाउँसभाले आगामी आर्थिक वर्षका लागि कुल ५८ करोड २६ लाख ६५ हजार ३ सय रुपैयाँको अनुमानित बजेट विनियोजन गरेको छ। उक्त बजेटमार्फत स्थानीय विकास, सेवा प्रवाहको सुदृढीकरण, कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, पूर्वाधार विकास तथा नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
स्थानीय आवश्यकतामा आधारित योजना तथा कार्यक्रमलाई प्राथमिकता दिँदै समृद्ध र आत्मनिर्भर जुगल निर्माण गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ। बजेट पारित भएसँगै जुगल गाउँपालिकाको २० औँ गाउँसभा अधिवेशन भव्य र सफल रूपमा सम्पन्न भएको छ।
१० असार २०८३, बुधबार २२:३४