बजेट बाँडफाँटमा सहमति नजुट्दा मेलम्ची नगरसभाको बैठक स्थगित


जनतापत्र,सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिकाको नगरसभा बैठक बजेट बाँडफाँटसम्बन्धी विवादका कारण स्थगित भएको छ। आर्थिक वर्ष २०८३र८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने उद्देश्यले आयोजित नगरसभा बैठकमा बजेट वितरणको विषयमा सहमति जुट्न नसकेपछि सभा स्थगित गरिएको हो।
नगरपालिकाभित्र विभिन्न योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्ने क्रममा जनप्रतिनिधिहरूबीच मतभेद उत्पन्न भएको बताइएको छ। बजेट वितरणमा भागबन्डा नमिलेको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगरसभा बैठक बहिष्कार गरेपछि सभा प्रभावित बनेको थियो।


बैठकमा सहभागी जनप्रतिनिधिहरूले बजेट विनियोजन प्रक्रिया थप न्यायोचित, पारदर्शी र सबै वडाको आवश्यकता अनुरूप हुनुपर्ने धारणा राखेका थिए। तर, बजेट बाँडफाँटको विषयमा सहमति कायम हुन नसक्दा निर्धारित कार्यसूचीअनुसार सभा सञ्चालन हुन सकेन।
नगरपालिकाका पदाधिकारीहरूले सबै पक्षसँग छलफल गरी सहमतिको वातावरण निर्माण गर्ने प्रयास भइरहेको बताएका छन्। विकास निर्माणका योजना, सेवा प्रवाह तथा आगामी आर्थिक वर्षका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न साझा समझदारी आवश्यक रहेको उनीहरूको भनाइ छ।
स्थगित नगरसभा बैठक अब आगामी असार १७ गतेका लागि तय गरिएको छ। उक्त बैठकमा बजेट सम्बन्धी विवाद समाधान गरी नीति, कार्यक्रम तथा बजेट पारित गर्ने अपेक्षा गरिएको छ।
नगरसभा स्थगित भएसँगै स्थानीय तहको आगामी आर्थिक वर्षको बजेट तथा विकास योजनाप्रति नगरवासीको चासो बढेको छ। सबै पक्षबीच सहमति कायम भई नगरसभाले निकास निकाल्ने विश्वास व्यक्त गरिएको छ।

१० असार २०८३, बुधबार २२:२९