बलेफीमा वडा सिमाना विवाद विषयमा स्थलगत अध्ययन


वलेफी,सिन्धुपाल्चोक ।
गाउँपालिका तथा नगरपालिका र वडाको सङ्ख्या तथा सिमाना हेरफेर तथा नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८३ बमोजिम बलेफी गाउँपालिकामा वडा सिमाना विषयमा स्थलगत अध्ययन, अनुगमन तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख तथा अध्ययन समितिका संयोजक बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पदमनाथ नेपाल, बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी, भूमि प्रशासन कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुख तथा अध्ययन समितिका अन्य सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत हाल बलेफी गाउँपालिका वडा नं. ४ मा समावेश साविक फुल्पिङडाँडा गाविस वडा नं. ८ तथा हाल वडा नं. ५ मा समावेश साविक फुल्पिङडाँडा गाविस वडा नं. ५ को स्थलगत निरीक्षण तथा सीमाना अध्ययन गरिएको थियो। अध्ययन टोलीले सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, बस्तीको बनोट, सेवा प्रवाहको अवस्था तथा प्रशासनिक पहुँचको समेत अवलोकन गरेको थियो।
साविक फुल्पिङडाँडा गाविसका वडा नं. ५ र ८ लाई समायोजन गरी बलेफी गाउँपालिकामा नयाँ वडा थप गर्ने विषयमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, सांस्कृतिक तथा भाषिक पहिचानसँग सम्बन्धित समुदायका प्रतिनिधि, सीमाविद्, भूगर्भविद्, विपद् व्यवस्थापन तथा वातावरणविद्लगायत सरोकारवालासँग विस्तृत अन्तरक्रिया र छलफल गरिएको थियो।
छलफलका क्रममा सहभागीहरूले नयाँ वडा गठन गर्दा भौगोलिक निरन्तरता, जनसङ्ख्या, बस्तीको अवस्था, सामाजिक तथा सांस्कृतिक पहिचान, भाषिक विविधता, सेवा प्रवाहको सहजता, प्रशासनिक पहुँच, भौतिक पूर्वाधार तथा स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए। स्थानीयवासीले नयाँ वडा गठन भए सेवा प्राप्त गर्न सहज हुने, प्रशासनिक पहुँच बढ्ने तथा स्थानीय विकासका काम थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्।
अध्ययन समितिले स्थानीयवासीका सुझाव, तथ्याङ्क तथा स्थलगत अवस्थाको आधारमा आवश्यक प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा सिफारिस गर्ने जनाएको छ। समितिका संयोजक बालकृष्ण श्रेष्ठले स्थानीय तहको वडा पुनर्संरचना गर्दा कानुनी मापदण्ड, स्थानीय आवश्यकता र नागरिकको सुविधालाई केन्द्रमा राखेर निष्पक्ष रूपमा अध्ययन भइरहेको बताउनुभयो।
बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले स्थानीय सरकार नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले आवश्यक तथ्य र आधारसहित नयाँ वडा थप गर्ने प्रक्रियामा सहकार्य गरिरहेको बताउनुभयो। उहाँले स्थानीयको सहभागिता र सुझावका आधारमा अघि बढाइने निर्णय दीर्घकालीन रूपमा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित अधिकांश सरोकारवालाले वडा पुनरावलोकन प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र स्थानीय आवश्यकताअनुकूल हुनुपर्नेमा जोड दिएका थिए। स्थलगत अध्ययन तथा अन्तरक्रिया कार्यक्रम सकारात्मक, रचनात्मक र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको अध्ययन समितिले जनाएको छ।

१६ श्रावण २०८३, शनिबार १२:२७