जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले ग्रामीण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बराम्ची स्वास्थ्य चौकी, जुगल–५ मा निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन गरेको छ। मिति २०८३ साल जेठ ७ गते आयोजित कार्यक्रममा जम्मा ८ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममार्फत विशेषगरी ग्रामीण भेगका गर्भवती महिला तथा स्वास्थ्य परीक्षण आवश्यक भएका नागरिकलाई निःशुल्क अल्ट्रासाउन्ड सेवा प्रदान गरिएको थियो। स्वास्थ्य संस्थासम्म पहुँच कम भएका नागरिकलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
कार्यक्रममा स्वास्थ्यकर्मीहरूले सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श समेत दिएका थिए। स्थानीयवासीले गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा राहत महसुस भएको बताएका छन्।
जुगल गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै समय–समयमा यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। विशेषगरी दुर्गम क्षेत्रका नागरिकलाई सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताइएको छ।
स्थानीयस्तरमै स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध हुँदा नागरिकलाई समय, खर्च र यात्रा कठिनाइ कम हुने विश्वास गरिएको छ। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
११ जेष्ठ २०८३, सोमबार १३:४४