बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलन तथा शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

जनतापत्र,मेलम्ची ।

मेलम्ची नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३÷८४ को बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलन एवं आर्थिक वर्ष २०८२÷८३ को हालसम्मको प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ। सोही अवसरमा शैक्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो।

नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारकी पूर्व राज्यमन्त्री इन्द्रमाया गुरुङ, नगर उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, विभिन्न वडाका वडा अध्यक्षहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, शिक्षक, अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८२÷८३ मा नगरपालिकाले हालसम्म सम्पादन गरेका विकास निर्माण, सामाजिक, शैक्षिक तथा पूर्वाधारसम्बन्धी गतिविधिहरूको समीक्षा प्रस्तुत गरिएको थियो। साथै आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा नीति कार्यक्रमलाई थप प्रभावकारी, जनमुखी र आवश्यकतामा आधारित बनाउन सहभागीहरूबाट सुझाव संकलन गरिएको थियो।

सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, युवा तथा महिला सशक्तीकरण लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नगरपालिकाले आगामी बजेट तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रमका अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, विद्यालय तथा शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। नगर प्रमुख तामाङले नगरको समग्र विकासका लागि नागरिक सहभागिता आवश्यक रहेको उल्लेख गर्दै प्राप्त सुझावहरूलाई आगामी बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमले नगरपालिकाको विकास योजना निर्माण प्रक्रियामा नागरिक सहभागिता अभिवृद्धि गर्नुका साथै शिक्षा क्षेत्रको प्रोत्साहनमा महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताएका छन्।

२ असार २०८३, मंगलवार १३:१३