प्रयोगात्मक कार्य गर्दै ऐंसेलुखर्कका प्लान्ट साइन्सका विद्यार्थी

जनतापत्र,सिन्धुपाल्चोक ।
इन्द्रावती गाउँपालिका–५ स्थित ऐंसेलुखर्क माध्यमिक विद्यालयमा अध्ययनरत प्लान्ट साइन्स (एबिलत क्अष्भलअभ) विषयका विद्यार्थीहरूले प्रयोगात्मक तथा व्यवहारिक सिकाइअन्तर्गत विभिन्न कृषि तथा वनस्पतिसम्बन्धी कार्य सम्पन्न गरेका छन्।

विद्यालयको प्राविधिक शिक्षाअन्तर्गत अध्ययनरत विद्यार्थीहरूले कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले बोटबिरुवाको पहिचान, बिरुवा उत्पादन, माटो परीक्षण, नर्सरी व्यवस्थापन तथा कृषि बालीको अवलोकनलगायतका गतिविधि सञ्चालन गरेका हुन्। प्रयोगात्मक अभ्यासले विद्यार्थीहरूलाई विषयवस्तुको गहिरो ज्ञान हासिल गर्न र भविष्यमा कृषि तथा वनस्पति विज्ञान क्षेत्रमा दक्ष जनशक्ति बन्न प्रेरणा मिलेको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यार्थीहरूले स्थानीय वातावरणमा पाइने विभिन्न वनस्पति प्रजातिको अध्ययन गर्नुका साथै आधुनिक कृषि प्रविधिबारे पनि जानकारी हासिल गरेका थिए। शिक्षकहरूको प्रत्यक्ष निगरानी तथा सहजीकरणमा सम्पन्न प्रयोगात्मक कार्यले विद्यार्थीहरूको सीप, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

विद्यालय प्रशासनले प्राविधिक तथा व्यावसायिक शिक्षालाई व्यवहारिक र रोजगारमुखी बनाउन यस्ता गतिविधिहरूलाई निरन्तरता दिइने जनाएको छ। विद्यार्थीहरूले पनि प्रयोगात्मक अभ्यासबाट पाठ्यक्रमलाई अझ राम्रोसँग बुझ्न तथा व्यवहारिक अनुभव प्राप्त गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।

शिक्षालाई सीपसँग जोड्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस प्रकारको प्रयोगात्मक कार्यले कृषि तथा वनस्पति विज्ञानप्रति विद्यार्थीहरूको रुचि बढाउनुका साथै भविष्यमा स्वरोजगार तथा उद्यमशीलता विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

१९ जेष्ठ २०८३, मंगलवार १२:३४