एक महिनामा सिन्धुपाल्चोकमा २९ अपराधका घटना, चोरीका मुद्दा धेरै

सिन्धुपाल्चोकमा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका २९ वटा आपराधिक घटना प्रहरीमा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भदौ महिनामा १५ फरक शीर्षकअन्तर्गत ती घटना दर्ता भएका हुन्।

दर्ता भएका घटनामध्ये चोरीसम्बन्धी मुद्दा सबैभन्दा धेरै छन्। तथ्यांकअनुसार डाँका चोरीका ४ तथा साधारण चोरीका ३ गरी चोरीका मात्रै ७ वटा घटना प्रहरीमा पुगेका छन्।

त्यसैगरी भवितव्य ज्यानसम्बन्धी ४ वटा घटना र झुण्डिएर मृत्यु भएका ३ वटा घटना दर्ता भएका छन्। सार्वजनिक शान्तिविरुद्धको कसुरका ३ तथा लागूऔषध सेवनका २ वटा घटना पनि प्रहरीको अभिलेखमा छन्।

त्यस्तै जबर्जस्ती करणी उद्योगका २ वटा घटना दर्ता भएका छन्। कारण नखुलेको ज्यान, विष सेवन, लागूऔषध गाँजा, ठगी, जबर्जस्ती करणी, बाल यौन दुरुपयोग र सवारी ज्यानसम्बन्धी एक–एक वटा घटना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भदौ महिनाको तथ्यांकले सिन्धुपाल्चोकमा चोरीसँगै विभिन्न प्रकृतिका आपराधिक घटना प्रहरीमा दर्ता हुने क्रम देखाएको छ।

५ आश्विन २०८३, सोमबार ११:३३