प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न अनुगमन कार्यलाई तीव्र


जनतापत्र,चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाले विकास निर्माणसम्बन्धी योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न अनुगमन कार्यलाई तीव्र बनाएको छ। बुधबार नगर उपप्रमुख सिता थापाको नेतृत्वमा वडा नं ४, ५, ८ र १४ मा सञ्चालित विभिन्न योजनाहरूको स्थलगत निरीक्षण गरिएको हो।
अनुगमनका क्रममा वडा नं। ८ मा गिरीगाउँ बस्ती संरक्षणका लागि विनियोजित २ लाख रुपैयाँ तथा थापागाउँस्थित कुलायन मन्दिर निर्माणका लागि छुट्याइएको ५ लाख रुपैयाँको योजनाको प्रगति मूल्यांकन गरिएको थियो। त्यस्तै वडा नं १४ मा तल्ला बिरौटा सिँचाइ पोखरी निर्माण ९४ लाख र झुलेटार सडक स्तरोन्नति ९४ लाख० आयोजनाको अवस्थाबारे पनि जानकारी लिइएको छ।
यसैगरी नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा भवन मर्मतका लागि छुट्याइएको ५ लाख रुपैयाँ बराबरको योजनाको प्रगतिबारे समेत समीक्षा गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले विकास योजनाहरूलाई गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गराउन नियमित अनुगमनलाई प्राथमिकता दिँदै सम्बन्धित निकायलाई निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्देशन दिएको छ।

१७ बैशाख २०८३, बिहीबार ११:३०