जनतापत्र, सिन्धुपाल्चोक ।
त्रिपुरासुन्दरी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको “प्रथम अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८३” सफलतापूर्वक सम्पन्न भएको छ। पर्यटन प्रवर्द्धन तथा खेलकुद विकासलाई मुख्य उद्देश्य बनाएर आयोजित प्रतियोगिता गाउँपालिका वडा नं. ४ पिस्करस्थित महभीर झरना प्राङ्गणमा दुई दिनसम्म सञ्चालन गरिएको थियो। जेठ ९ गतेदेखि सुरु भएको प्रतियोगिता आज दोस्रो दिन विभिन्न प्रतिस्पर्धात्मक खेलहरूसँगै सम्पन्न भएको हो।

प्रतियोगितामा गाउँपालिका तथा आसपासका क्षेत्रबाट महिला र पुरुषतर्फका विभिन्न टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो। खेल अवधिभर खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चक प्रतिस्पर्धा दिएका थिए। आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाहरूलाई पहिचान र प्रोत्साहन गर्ने अवसर प्रदान गरेको छ। साथै खेलकुदमार्फत युवाहरूबीच अनुशासन, आपसी सद्भाव, सहकार्य र सकारात्मक सोचको विकासमा समेत टेवा पुगेको विश्वास गरिएको छ। प्रतियोगिता सम्पन्न भएसँगै आयोजक समितिले सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक, स्वयंसेवक, सुरक्षाकर्मी, दर्शक तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। प्रतियोगिताको सफल आयोजनाले महभीर झरनाजस्तो पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत सकारात्मक प्रभाव परेको आयोजकको भनाइ छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हासिल गर्ने विजेता टिमहरूलाई बधाई दिँदै उज्ज्वल खेल भविष्यको शुभकामना व्यक्त गरिएको छ। त्यसैगरी उपविजेता तथा सहभागी सम्पूर्ण टिमहरूको पनि उच्च सम्मानका साथ प्रशंसा गरिएको छ। आयोजकले प्रतियोगितामा सहभागी टिमहरूले देखाएको उत्साह, समर्पण, अनुशासन र खेलभावनाले कार्यक्रमलाई थप भव्य र सफल बनाएको जनाएको छ। स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगिता निरन्तर आयोजना गरिने आयोजकले जनाएको छ।

गाउँपालिकाले खेलकुदसँगै पर्यटन क्षेत्रको विकासलाई समेत प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। महभीर झरनाजस्तो प्राकृतिक तथा पर्यटकीय स्थलमा प्रतियोगिता आयोजना गरिएकाले खेल र पर्यटन प्रवर्द्धन एकसाथ अघि बढाउने प्रयास सफल भएको स्थानीयवासीले बताएका छन्।
१३ जेष्ठ २०८३, बुधबार ११:३९