प्रतिनिधिसभा बैठक आज, भोटेकोशी–त्रिशूली बाढीबारे विशेष प्रस्ताव आउने

काठमाडौं, भदौ १७ । केही दिनदेखि स्थगित रहेको प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो १ बजे बस्दैछ। बैठकमा हालै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने तयारी गरिएको छ।

भदौ १० गते बसेको बैठकपछि प्रतिनिधिसभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो। त्यसपछि भदौ ११ गते बैठक बस्ने तयारी भए पनि सभामुखको सूचनामार्फत बैठक स्थगित गरिएको थियो।

आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायतका जिल्लामा परेको क्षतिबारे संसद्को धारणा प्रस्तुत गर्नेछन्।

विशेष प्रस्तावमार्फत बाढीमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना व्यक्त गरिनेछ। त्यस्तै, अझै सम्पर्कविहीन रहेका व्यक्तिको खोजी, विस्थापित परिवारको व्यवस्थापन र घाइतेको उपचारलाई प्रभावकारी बनाउनुपर्ने विषयसमेत प्रस्तावमा समेटिनेछ।

रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रसहित त्रिशूली नदी आसपासका विभिन्न क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। घटनामा नेपाली तथा विदेशी नागरिकसमेत प्रभावित भएको जनाइएको छ।

दुई संसदीय समितिमा पनि बाढी र विधेयकमाथि छलफल

प्रतिनिधिसभाको बैठकसँगै आज संसदीय समितिहरू पनि सक्रिय रहने भएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ। बैठकमा रसुवामा आएको बाढी तथा पहिरोका कारण पर्यटन क्षेत्रमा परेको असरबारे छलफल गरिने कार्यसूची छ। विपद्का कारण पर्यटन पूर्वाधार, आवागमन र पर्यटकीय गतिविधिमा परेको प्रभावबारे समितिले जानकारी लिनेछ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १२ः१५ बजे बोलाइएको छ। समितिमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुने बताइएको छ।

यसरी आज संसद्को मूल बैठकमा बाढीबाट प्रभावित नागरिकप्रति राज्यको धारणा प्रस्तुत हुने तथा समितिका बैठकमा विपद्को प्रभाव र कानुन निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने भएको छ।

१७ भाद्र २०८३, बुधबार १०:४९