पाँचपोखरी पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा

जनतापत्र,सिन्धुपाल्चोक ।
पाँचपोखरी थाङपाल गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी, अभिभावक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममार्फत गाउँपालिकाका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो। यस उपलब्धिले बालबालिकाको स्वास्थ्य सुरक्षा तथा रोग नियन्त्रणमा गाउँपालिकाले हासिल गरेको सफलतालाई प्रतिबिम्बित गरेको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टासी लामाले पूर्णखोप सुनिश्चितता हासिल गर्नु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यस सफलतामा योगदान पु¥याउने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्नुभयो। उहाँले महिला स्वास्थ्य स्वयंसेविका, खोपकर्ता, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, अभिभावक तथा गाउँवासीहरूको सक्रिय सहभागिता, प्रतिबद्धता र सहयोगकै कारण यो उपलब्धि सम्भव भएको बताउनुभयो।

अध्यक्ष लामाले पूर्णखोपको अवस्था दीगो रूपमा कायम राख्न आगामी दिनमा समेत सबै सरोकारवालाहरूको निरन्तर सहयोग आवश्यक रहने बताउनुभयो। कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको यस उपलब्धिलाई बाल स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सफलता भएको भन्दै बधाई व्यक्त गरेका थिए।

गाउँपालिकाले आगामी दिनमा पनि खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।

२ असार २०८३, मंगलवार १३:२०