
चौतारा सिन्धुपाल्चोक ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भयो। कार्यक्रममा पालिका भित्रका विभिन्न संघ–संस्थाले आफ्नो–आफ्नो क्षेत्रका गतिविधि, आगामी योजना, सम्भावना, अवसर तथा चुनौतीबारे प्रस्तुतीकरण गरे।
समीक्षा सत्रमा गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गरेका प्रमुख काम तथा उपलब्धिबारे प्रशासकीय अधिकृत रामप्रसाद न्यौपानेले विस्तृत प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा पालिकाले उल्लेख्य प्रगति गरेको बताउँदै हालसम्मको उपलब्धिमाथि गर्व व्यक्त गरे। उनले जिल्लामा शिक्षा र स्वास्थ्य सूचकाङ्कमा गाउँपालिका अग्रस्थानमा पुगेको दाबी गर्दै आगामी वर्षहरूमा अझ प्रभावकारी ढङ्गले सेवा विस्तार गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे।
अध्यक्ष लामाले सबैको एकता, सहयोग र निरन्तर समर्थनका कारण गाउँपालिका सुविधा सम्पन्न पालिकाहरूसँग पनि प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेको उल्लेख गर्दै जनप्रतिनिधि तथा कर्मचारीहरूलाई कर्तव्यनिष्ठ रहन निर्देशन पनि दिए।
कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, प्रवक्ता नारायण भट्टराई, वडा अध्यक्षहरू, विभिन्न शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
२९ कार्तिक २०८२, शुक्रबार १९:४६