पाँचपोखरी थाङपालमा नमुना युवा संसद कार्यक्रम सम्पन्न, विद्यार्थीको नेतृत्व क्षमता विकासमा जोड


सुनिता रखाल, सिन्धुपाल्चोक।
पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा विद्यार्थीहरूको नेतृत्व क्षमता, निर्णय क्षमता तथा जिम्मेवारीबोध विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको नमुना युवा संसद कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
मिति २०८३ साल जेठ २२ गते आयोजित कार्यक्रममा सहभागी विद्यार्थीहरूले राष्ट्रपतिको गरिमामय भूमिका, प्रधानमन्त्री, मन्त्री, सांसद, मर्यादापालक, अङ्गरक्षक तथा संसद सचिवालयका विभिन्न जिम्मेवारीहरू निर्वाह गर्दै संसदीय अभ्यासको अनुभव हासिल गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले संसदीय प्रक्रिया, नीति निर्माण, छलफल तथा निर्णय प्रक्रियाबारे व्यावहारिक ज्ञान प्राप्त गरेका थिए।


कार्यक्रमका वक्ताहरूले यस्ता अभ्यासमूलक कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, तर्कशक्ति र सिर्जनशील सोचको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्। आजका विद्यार्थीलाई भोलिका सक्षम, जिम्मेवार र दूरदर्शी नेतृत्वका रूपमा तयार पार्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो।


कार्यक्रममा सहभागी विद्यार्थीहरूले अनुशासन, आत्मविश्वास र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गरेका थिए। उनीहरूको सक्रिय सहभागिता र उत्कृष्ट प्रस्तुतीले उज्ज्वल भविष्यको संकेत गरेको आयोजकको भनाइ छ।
कार्यक्रम सफल बनाउन विद्यालय परिवार, शिक्षक–शिक्षिका, आयोजक, व्यवस्थापक, पत्रकार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तिहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ। गाउँपालिकाले आगामी दिनमा पनि युवाहरूको क्षमता विकास र नेतृत्व प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

२३ जेष्ठ २०८३, शनिबार २३:०२