पाँचपोखरी कोशेली घर औपचारिक रूपमा उद्घाटन


जनतापत्र, पाँचपोखरी ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका मा ‘पाँचपोखरी कोशेली घर’ औपचारिक रूपमा उद्घाटन गरिएको छ। बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी लगायतको सहभागिता रहेको थियो।


कार्यक्रममा मन्त्री पौडेलले कृषि क्षेत्र अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उत्पादन वृद्धि, बजारीकरण र आधुनिकीकरणमा जोड दिनुपर्ने बताए। उनले रासायनिक मल अभावको समस्या संघीय तहसँग सम्बन्धित भएकाले प्रदेश सरकारको भूमिका सहजीकरण र समन्वयमै सीमित रहेको स्पष्ट पारे। साथै, स्थानीय तह र किसानहरूलाई आवश्यक योजना तथा कार्यक्रमका लागि स्पष्ट माग पेश गर्न आग्रह गरे।
अध्यक्ष लामाले कोशेली घरले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले खाद्य सुरक्षाका लागि नियमित अनुगमन भइरहेको र सूचना केन्द्रमार्फत पर्यटनसम्बन्धी जानकारी उपलब्ध गराएर पर्यटक आकर्षण बढाउने प्रयास भइरहेको जानकारी दिए।
स्थानीय उत्पादन र पर्यटनलाई जोड्दै आर्थिक गतिविधि बढाउने उद्देश्यसहित स्थापना गरिएको कोशेली घरले क्षेत्रीय विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

१७ बैशाख २०८३, बिहीबार १९:४८