काठमाडौँ । समाचार प्रकाशनको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले श्रेष्ठलाई तत्काल रिहा गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेको छ।
श्रेष्ठलाई बुधबार राति करिब ९ बजे ललितपुरस्थित निवासबाट काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको महासंघले जनाएको छ। पक्राउपछि समाचारको स्रोतबारे जानकारी लिन भन्दै प्रहरीले राति करिब १ बजे उनको निवासमा र त्यसको भोलिपल्ट बिहान कार्यालयमा समेत खानतलासी गरेको सूचना प्राप्त भएको महासंघको भनाइ छ।
महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा पत्रकारमाथि गरिएको यस्तो व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यताविपरीत रहेको उल्लेख गरिएको छ। समाचारमा चित्त नबुझेको विषयमा कानुनी प्रक्रिया अघि बढाउने अधिकार प्रेस काउन्सिल नेपालसँग रहेको भन्दै महासंघले त्यसैमार्फत समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
महासंघले समाचारको विषयलाई लिएर सरकारी संयन्त्र प्रयोग गरी पत्रकारलाई पक्राउ गर्ने तथा उनको निवास र कार्यालयमा खानतलासी गर्ने शैलीप्रति समेत प्रश्न उठाएको छ। यस्तो कार्यले पत्रकार आचारसंहिता र संवैधानिक रूपमा सुनिश्चित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मानमा असर पार्ने महासंघको ठहर छ।
महासंघले प्रेसविरोधी व्यवहार तत्काल सच्याउन, श्रेष्ठलाई बिनाशर्त रिहा गर्न तथा पत्रकारिता क्षेत्रको स्वतन्त्रताप्रति संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ।
साथै, श्रेष्ठले प्रकाशन गरेको समाचारप्रति कुनै असन्तुष्टि वा गुनासो भए प्रेस काउन्सिल नेपालमार्फत आवश्यक प्रक्रिया अपनाएर समाधान खोज्न महासंघले सम्बन्धित पक्षलाई आग्रह गरेको छ। काउन्सिललाई पनि आफ्नो क्षेत्राधिकारको प्रभावकारी संरक्षण र कार्यान्वयनका लागि सक्रिय भूमिका निर्वाह गर्न महासंघले अनुरोध गरेको छ।
२८ श्रावण २०८३, बिहीबार ११:००