इन्द्रावतीमा विकासका विभिन्न क्षेत्रमा प्रगति, बजेट कार्यान्वयन र सेवा प्रवाहमा अझै चुनौती

नवलपुर । इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न शाखाका कार्यक्रमको वार्षिक समीक्षा गरेको छ। समीक्षामा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि तथा पशुपालन, सामाजिक सुरक्षा, डिजिटल सेवा र उद्यम विकासलगायतका क्षेत्रमा उल्लेख्य काम भएको विवरण सार्वजनिक गरिएको छ। यद्यपि सीमित आन्तरिक आम्दानी, जनशक्ति अभाव, योजना कार्यान्वयनमा हुने ढिलाइ र उपलब्ध बजेटको प्रभावकारी उपयोग अझै चुनौतीका रूपमा रहेको जनाइएको छ।

गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले उपलब्ध स्रोत र साधनलाई आधार बनाएर बजेट तथा कार्यक्रम अघि बढाइएको बताउनुभयो। उहाँका अनुसार कुल बजेटको करिब आधा हिस्सा पूर्वाधार विकासमा छुट्याइएको छ। स्थानीय तहको संस्थागत क्षमता मूल्याङ्कन (लिजा) मा गाउँपालिका दोस्रो तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा पहिलो स्थान हासिल गर्न सफल भएको उहाँको भनाइ छ।

अध्यक्ष नेपालले शिक्षा क्षेत्रमा सामाजिक संस्थासँग सहकार्य भइरहेको, स्वास्थ्य सेवामा सुधार भएको र गाउँपालिकाको आन्तरिक स्रोत करिब २० प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो। वित्तीय अनुशासन कायम गर्ने प्रयासस्वरूप बेरुजु कम राख्न पनि ध्यान दिइएको उहाँले बताउनुभयो। तितेपातीको तेल उत्पादनलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने र बाँदर नियन्त्रणका लागि रासायनिक उपायको विकास गर्ने कामसमेत अघि बढाइएको उहाँको भनाइ छ।

गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले भएका कामलाई सकारात्मक रूपमा लिन सकिए पनि उपलब्धिलाई पर्याप्त मान्न नसकिने बताउनुभयो। आगामी दिनमा भएका कामसँगै हुन नसकेका कामको समेत समीक्षा गरेर अघि बढ्नुपर्ने उहाँको धारणा थियो।

बजेट खर्च ७६ प्रतिशतभन्दा बढी

आर्थिक प्रशासन शाखाका प्रमुख भाष्कर पन्तका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाको कुल बजेटमध्ये करिब ७६.२४ प्रतिशत खर्च भएको छ। आन्तरिक स्रोत कमजोर रहेकाले राजस्व वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। चार सयभन्दा बढी योजना सञ्चालन गर्नुपर्ने अवस्था र सीमित स्रोतका कारण योजना व्यवस्थापनमा कठिनाइ रहेको उहाँको भनाइ छ।

वडागत सेवा प्रवाहअन्तर्गत वर्षभरिमा ३ हजार ८९५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् भने १ हजार ५९४ व्यक्तिगत घटना दर्ता भएका छन्। राजस्व सङ्कलनमा वडा नम्बर ४ अगाडि रहेको र वडा नम्बर ११ मा सबैभन्दा कम राजस्व उठेको विवरण प्रस्तुत गरिएको थियो।

स्वास्थ्यमा ९२ प्रतिशत प्रगति

स्वास्थ्य शाखाले आर्थिक तथा भौतिक प्रगतितर्फ करिब ९२ प्रतिशत उपलब्धि हासिल गरेको जनाएको छ। २२ हजार ९४९ जनसङ्ख्यालाई लक्षित गरी सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रममार्फत ४१ हजार १६९ सेवा प्रदान गरिएको शाखा प्रमुख अनिरुद्र तिमल्सिनाले जानकारी दिनुभयो। गाउँघर तथा खोप क्लिनिकबाट मात्रै २१ हजार ७७१ जनाले सेवा लिएका छन्।

बालबालिकाको खोप कार्यक्रमअन्तर्गत २४१ जनाले पहिलो र २०९ जनाले अन्तिम खोप लगाएका छन्। गाउँपालिकाका सबै वडा पूर्ण खोप सुनिश्चित भएका छन्। कम तौल भएका बालबालिकाको दर ०.७ प्रतिशत रहेको तथा पूर्ण स्तनपान गराउने दर १०० प्रतिशत रहेको बताइएको छ।

गर्भवतीमध्ये ४५ प्रतिशतले आइरन चक्की सेवन गर्ने र ४३ प्रतिशतले आठ पटकसम्म गर्भ परीक्षण गराउने गरेको तथ्याङ्क प्रस्तुत गरिएको छ। गाउँपालिकामा ग्यास्ट्रिक, चोटपटक, उच्च रक्तचाप र जोर्नी दुखाइजस्ता समस्या बढी देखिएको स्वास्थ्य शाखाले जनाएको छ। दुई जना मृत शिशु जन्मिएको र तीन जना घरमै सुत्केरी भएको विवरण पनि प्रस्तुत गरिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा २४ जनामा एचपीभी पोजेटिभ देखिएको छ भने क्षयरोग परीक्षण गरिएका ११७ जनामध्ये एक जनामा संक्रमण पुष्टि भएको छ। तीनवटा आँखा शिविर सञ्चालन गरिएको र गाउँपालिकामा डेंगु नदेखिएको जानकारी दिइएको छ। मानसिक स्वास्थ्यतर्फ डिप्रेसनको समस्या बढिरहेको जनाउँदै स्वास्थ्य भत्ताका लागि मासिक पाँच हजार रुपैयाँका दरले कुल ३७ लाख ७६ हजार रुपैयाँ खर्च भएको बताइएको छ।

३१३ योजनामध्ये २५३ सम्पन्न

पूर्वाधारतर्फ गाउँपालिकाले सञ्चालन गरेका ३१३ योजनामध्ये २५३ वटा सम्पन्न भएका छन्। यस अवधिमा २.५ किलोमिटर सडक कालोपत्रे, ५.४८ किलोमिटर सडक ढलान र १.७८ किलोमिटर नयाँ सडक ट्र्याक निर्माण गरिएको पूर्वाधार शाखाले जनाएको छ।

‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत ६३ वटा धारा र तीनवटा कुवा निर्माण भएका छन्। धार्मिक तथा सामुदायिक संरचनाअन्तर्गत ८३ मन्दिर र नौवटा चर्च निर्माण गरिएको विवरण प्रस्तुत गरिएको छ। विपद् व्यवस्थापनका लागि ६१ लाख रुपैयाँ खर्च भएको र योजनाको २५१ पटक अनुगमन गरिएको जनाइएको छ।

धेरै योजना एकैपटक सञ्चालन गर्नुपर्ने, जनश्रमदानको कमी, समयमै सम्झौता नहुनु, निर्माण सामग्रीको मूल्य बढ्नु तथा योजनालाई टुक्र्याएर सञ्चालन गर्ने प्रवृत्ति पूर्वाधार विकासका प्रमुख समस्या रहेको शाखाले जनाएको छ।

शिक्षामा ९५ प्रतिशत बजेट खर्च

शिक्षा क्षेत्रमा गाउँपालिकाले ३ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सङ्घ, प्रदेश र अन्य स्रोतसमेत जोड्दा शिक्षा क्षेत्रमा कुल २४ करोड २७ लाख रुपैयाँ खर्च भएको छ। शिक्षा क्षेत्रको बजेट खर्च ९५ प्रतिशत पुगेको र गाउँपालिकाले सञ्चालन गरेका ३३ वटै कार्यक्रम सम्पन्न भएको शाखा प्रमुख मीन धामीले जानकारी दिनुभयो।

गाउँपालिकामा ४ हजार २५६ विद्यार्थी र ३५२ शिक्षक रहेका छन्। विद्यार्थी–शिक्षक अनुपात १ः१२ रहेको छ भने २ हजार २२७ विद्यार्थीले दिवाखाजा पाउने गरेका छन्। शैक्षिक सिकाइ उपलब्धि ७३ प्रतिशत पुगे पनि अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयन र माध्यमिक तहमा ४ जीपीए हासिल गर्ने विद्यार्थी उत्पादन चुनौतीकै रूपमा रहेको शाखाले जनाएको छ।

कृषि र पशुपालनमा तथ्याङ्क तथा जनशक्ति अभाव

कृषि क्षेत्रमा ४५ लाख रुपैयाँ बजेट रहे पनि कार्यक्रम कार्यान्वयनमा विभिन्न समस्या देखिएको शाखाले जनाएको छ। किसान घरधुरी सर्वेक्षणमा बसाइँसराइका कारण कठिनाइ हुनु, सङ्घीय ससर्त बजेट कार्यान्वयनमा समस्या आउनु तथा संघीय मापदण्डअनुसार किसानले कार्यक्रम सञ्चालन गर्न नसक्नु चुनौतीका रूपमा प्रस्तुत गरिएको छ। कृषि सामग्री र मलको आवश्यकता पहिचान गर्न आवश्यक तथ्याङ्कको कमी तथा कर्मचारी अभावसमेत समस्या रहेको जनाइएको छ।

पशु सेवातर्फ १ करोड ६३ लाख ५० हजार रुपैयाँ बजेटमध्ये ६६.९ प्रतिशत प्रगति भएको छ। २१ कार्यक्रममध्ये १३ वटा सम्पन्न भएका छन्। यस क्रममा १०० कुकुरको बन्ध्याकरण, ५७४ लिटर क्याल्सियम वितरण र ३० वटा कृत्रिम गर्भाधान गरिएको विवरण सार्वजनिक गरिएको छ। गाउँपालिकामा प्रयोगशाला नहुँदा पशु रोगको परीक्षण तथा उपचारमा समस्या रहेको शाखाले जनाएको छ।

कर्मचारी र डिजिटल सेवाको अवस्था

गाउँपालिकामा ४९ स्थायी र १०४ करार कर्मचारी कार्यरत रहेको प्रशासन शाखाले जनाएको छ। आर्थिक वर्षमा १० जना करार र दुई जना स्थायी कर्मचारी थपिएका छन्। राजस्वतर्फ २४ करोड ७८ लाख १ हजार रुपैयाँ सङ्कलन भएको र वित्तीय प्रगति ८२.३३ प्रतिशत पुगेको विवरण दिइएको छ।

सूचना प्रविधितर्फ डिजिटल शासनलाई प्राथमिकता दिँदै गाउँपालिकामा इ–हाजिरी शतप्रतिशत कार्यान्वयन गरिएको छ। तर भौगोलिक अवस्थाका कारण कतिपय क्षेत्रमा इन्टरनेट कमजोर हुनु र ब्याकअप सुविधा पर्याप्त नहुनु समस्या रहेको शाखाले जनाएको छ।

पञ्जीकरण शाखाका अनुसार वर्षभरिमा १ हजार ५४४ घटना दर्ता भएका छन्। १५ हजार परिचयपत्र वितरण, ४८० नयाँ दर्ता तथा ३७ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। सामाजिक सुरक्षा भत्तातर्फ ४० नयाँ कार्ड जारी गरिएको जनाइएको छ।

रोजगारी र उद्यम विकासमा प्रयास

रोजगार शाखाले स्थानीयस्तरमै वैदेशिक रोजगारीसम्बन्धी अभिमुखीकरण तथा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरेको जनाएको छ।

उद्यम विकासतर्फ ९ लाख ४६ हजार रुपैयाँ बजेटबाट सीप विकास र प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन गरिएको छ। तीन समूहलाई प्रविधि हस्तान्तरण गर्नुका साथै गलैँचा बुनाइ, जुत्ता–चप्पल र साबुन बनाउने तालिम दिइएको थियो। ती कार्यक्रमबाट ६० जना लाभान्वित भएका छन् भने एक जना नयाँ उद्यमी सिर्जना भएको शाखाले जनाएको छ।

खानेपानी र शिक्षामा थप सुधारको माग

वार्षिक समीक्षा कार्यक्रममा गाउँपालिकासँग सहकार्य गरिरहेका गैरसरकारी तथा साझेदार संस्थाले पनि आफ्ना कार्यक्रम र आगामी योजनाबारे जानकारी दिएका थिए। स्वास्थ्य तथा सामाजिक क्षेत्रका कार्यक्रमका लागि साझेदार संस्थाले आगामी योजनासमेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागी श्यामबहादुर गिरीले गाउँपालिकामा रहेको बृहत् खानेपानी समस्या समाधानका लागि थप पहल आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय स्रष्टा तथा प्रतिभाको सम्मान, शैक्षिक सुधार र समुदायसम्म प्रभावकारी सेवा विस्तारमा गाउँपालिकाले थप ध्यान दिनुपर्ने सुझाव दिनुभयो।

समग्रमा वार्षिक समीक्षा हेर्दा इन्द्रावती गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, सामाजिक सुरक्षा, डिजिटल सेवा र उद्यमशीलताका क्षेत्रमा विभिन्न कार्यक्रम अघि बढाएको देखिन्छ। तर बजेटको पूर्ण कार्यान्वयन, कमजोर आन्तरिक स्रोत, कर्मचारी अभाव, योजनाको ठूलो संख्या, कृषि तथा पशुपालनसम्बन्धी तथ्याङ्कको कमी र स्वास्थ्य तथा शिक्षाका केही सूचकमा देखिएका कमजोरी आगामी दिनका मुख्य चुनौती बनेका छन्।

गाउँपालिकाले आगामी दिनमा उपलब्ध स्रोतको उचित परिचालन, तीन तहका सरकारबीच समन्वय, निजी क्षेत्र तथा सामाजिक संस्थासँग सहकार्य र आन्तरिक राजस्व वृद्धि गर्दै विकासका कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाउने आवश्यकता देखिएको छ।

२७ श्रावण २०८३, बुधबार २१:१४